काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार राती बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेको समाचार प्रकाशन भएको बारेमा सोध्न सर्वोच्च अदालतले दुई समाचार संस्थाका पत्रकारलाई बोलाएको छ ।
सर्वोच्च अदालतका रजिष्टारले प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटेको समाचारबारे छलफल गर्नु छ आइदिनु होला भन्दै इमेज खबर डटकमका प्रधान सम्पादक राजन कुँइकेल र नेपालसमय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई बोलाएका हुन् । सो सन्देश सहित सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले उनीहरुलाई फोन गरेका थिए ।
हाम्राकुरासँगको कुराकानीमा इमेजखबर डटकमका प्रधान सम्पादक कुइँकेलले सोमबार प्रकाशित समाचारका विषयमा छलफल गर्नुपर्ने भन्दै बोलाएको जानकारी दिए ।
‘हिजो प्रकाशित समाचारका विषयमा छलफल गर्नु पर्यो, रजिष्टारले बोलाउनु भएको भन्दै फोन आएको थियो, अहिले म सर्वोच्च जाँदै छु, के सरोकार रहेछ हेरौं,’ कुइँकेलले हाम्राकुरासँग भने ।
नेपाल समयका प्रधान सम्पादक अमृतले आफूहरूलाई अहिले ३ बजे सर्वोच्च बोलाइएको र आफू पनि जाँदै गरेको जानकारी दिए ।
दुई पत्रकारसँगै पत्रकार महसंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टसमेत सर्वोच्च जाँदै छन् ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष विष्टले महासङ्घको प्रतिनिधिका रूपमा आफू सर्वोच्च जान लागेको जानकारी दिए ।
‘समाचार लेखेका कारण सोधपुछ गर्न सर्वोच्चले बोलाएको रहेछ, महासङ्घको प्रतिनिधिका रूपमा म पनि सर्वोच्च जाँदै छु,’ महासङ्घका वरिष्ठ उपाध्यक्ष विष्टले भने ।
समाचारप्रति कुनै पनि असहमति भए पहिले खण्डन गर्न सकिने, त्यसबाट पनि चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्न सकिने र त्यसपछि पनि चित्त नबुझे कानुनी उपचारका लागि अदालती प्रक्रियामा जान सकिने महासङ्घले जनाएको छ ।