प्रेस ज्याकेट लगाएर लागू औषध ओसारपसार गर्ने युवक पक्राउ
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
211
Shares
कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ वैवाह सीमा इलाकबाट सात ग्राम प्रतिबन्धित खैरो हेरोइनसहित २५ वर्षीय नरेश जोशी पक्राउ परेका छन्।
सुदूरखबर प्रेस लेखिएको ज्याकेट लगाएका ती युवकले भारतीय नागरिकबाट केही सामान लिएको शङ्का लागेर चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। पक्राउ परेका जोशी शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ।
जोशीका साथबाट मोबाइल दुई थान, क्यामेरा एक थान, बैङ्कको चेक पाँच थान, एटिम एक थान, सुदूरखबर दैनिकको परिचयपत्र एक थान, पश्चिम नेपाल दैनिकको पास, युएन ट्रे ड कन्सर्नको नाममा रहेको मोटरसाइकलको ब्लु बुकसहित बरामद गरिएको छ।
बरामद लागु औषध र अन्य सामानसहित जोशीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ।