मनाङ । पत्रकार महासंघ मनाङ शाखाका सल्लाहकार बिनोद गुरुङले आफ्नै होटलमा सुविधा सम्पन्न आइसोलेसन कक्ष निर्माण गरेका छन् ।
कोरोनाको दोस्रो लहर फैलिँदै जान थालेपछि हिमालपारीको जिल्ला मनाङमा होटललाई आइसोलेसन बनाइएको हो ।
गाउँगाउँमा सङ्क्रमण बढ्दै गएको अवस्थामा आइसोलेसनको अभावमा कोही नागरिकले मृत्युवरण गर्न नपरोस् भनी यति होटललाई आइसोलेसन बनाइएको गुरुङले बताए ।
वडा/वडामा आइसोलेसन बनाउने भनिए पनि अझै तयारी नभइसकेको अवस्थामा गाउँवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै आइसोलेसन कक्ष निर्माण गरिएको हो । जिल्लाको चार स्थानीय तहमध्ये सबैभन्दा बढी ङिस्याङ गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो छ ।
सांसद कर्म घलेले ङिस्याङ गाउँपालिकामा बिजुलीबाट चल्ने अक्सिजन मेशिन एक थान, अक्सिजन दिंदा प्रयोग हुने मास्क ठूलो र सानो गरी १०÷१० गरि २० वटा प्रदान गरेका छन् । होटल व्यवसायी गुरुङले आफ्नै होटल तीन बेड प्रयोग गर्न दिएका छन् । सांसद घलेले गुरुङले बनाएको आइसोलेसन कक्षमा उक्त उपकरणहरु सहयोग गरेका छन् ।
आइसोलेसन निर्माणको अन्तिम चरणमा भनिए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सक्ने अवस्था छैन । जिल्ला अस्पतालको नयाँ भवनको निर्माण भइरहेको र पुरानो भवनमा सङ्क्रमितका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अवस्थामा आफुहरुले नै यो काम गरेको गुरुङको भनाइ छ ।
बिनोद गुरङ पत्रकार महासंघ मनाङ शाखाका सल्लाहकार, मनाङ अनलाइनका निर्देशक र रेडियो मनाङका सन्चालक समितिका अध्यक्ष समेत हुन् ।