चलचित्र निर्माता पौडेलद्धारा पत्रकार कोरोना सुरक्षार्थ एकलाख सहयोग
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
589
Shares
काठमाडौं । कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् ।
हाल अमेरिकामा रहेका पौडेलले पठाएको उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको उपस्थितिमा चलचित्र पत्रकार राजन घिमिरेले एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष पराजुलीले कोभिड–१९ को संक्रमणका परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोगका लागि हात अघि बढाएका पौडेलप्रति आभार व्यक्त गरे ।
‘समग्र सञ्चारकर्मीहरूको पेसागत सुरक्षा र स्वास्थ्य सुरक्षाको पक्षमा उभिनु हाम्रो दायित्व हो’ पराजुलीले भने, ‘प्रदेश समितिले अघि बढाएको यो अभियान र अग्रसरतामा हातमा हात मिलाउने सहयोगी मनहरूप्रति कृतज्ञ छौँ ।’ उनले उक्त रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताए ।
कोरोनाको दोस्रो लहर आउनुपूर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सिध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय छन् । उनले यसअघि ‘रुद्रप्रिया’, ‘राज्जा रानी’लगायतका चलचित्र निर्माण गरिसकेका छन् । पेसाले सञ्चार उद्यमी पनि हुन् पौडेल । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा विभिन्न विधामा सक्रिय १२ वटा संगठन आवद्ध छन् ।