झापा । झापामा जेठ १४ गते मध्या राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्या राति १२ बजेसम्मको लागि लम्बाउने निर्णय गरेको हो।
जिल्लाको डिसीसीएमसीको बैठकले साबिकका व्यवस्थालाई निरन्तर दिँदै केही व्यवस्थाबारे हेरफेर र समयावधि परिवर्तन गरेको छ ।
जस अन्तरगत खाद्यान्न, माछा मासु र हरियो तरकारी बिहान ९ बजेसम्म होम डेलिभरी गर्न पाउने । ती सामानहरू व्यवसायीले आफै बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर-घरमा पुर्याइसक्नु पर्ने व्यवस्था गरेको छ । निर्माण सामग्री ओसारपसारको हकमा बिहान ११ बजेदेखि दिउँसो १ सम्म मात्र समय तोकेको छ ।
साथै अन्य व्यवस्थाहरू यथावत् रहेको प्रजिअ श्रवणकुमार तिमिल्सिना द्वारा हस्ताक्षरित जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।