कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रधानमन्त्री पोखरेल
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
671
Shares
फाइल तस्बिर
काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उनले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता रहेकाले सरकारले जितुजी र बिटुबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेको बताए। कोरोना महामारीको नियन्त्रणका लागि नेपाललाई विभिन्न देशको साथ र सहयोग प्राप्त भएको उनले जानकारी दिए।
कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँको समग्र नेतृत्व गर्नुभएको बताउँदै उनले अहिले फैलिरहेका विभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न सबैलाई आग्रह गरे।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शय्याको आइसोलेसन केन्द्र निर्माणका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।
आवश्यकताअनुसार २०० शय्यासम्म सञ्चालन गर्न सकिने सो आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौँ महानगरपालिकाले बजेटको व्यवस्था गरेको तथा नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन्।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने बताए।