स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीव्र
एपी,
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
240
Shares
फाइल तस्बिर
टोकियो। जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भए पनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको शुक्रवार जानकारी दिएका हुन्।
अघिल्लो वर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सारिएको हो। प्रतियोगिता एक वर्ष पछाडि सार्दा समेत महामारी कायमै रहे पनि प्रतियोगिता सञ्चालन गर्ने गरी अहिले तयारी भइरहेको हो।
प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि सङ्कटकाल लगाइएको छ। जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरूको सङ्ख्यामा वृद्धि हुँदै आएको अधिकारीहरूले जनाएका छन्।
अस्ट्रेलिया ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका कोट्सले भर्चुअल माध्यम मार्फत अस्ट्रेलियाबाट नै प्रतियोगिताको तयारी सन्तोषजनक तरिकाले नै अगाडि बढिरहेको जानकारी दिए।
प्रतियोगिताका आयोजकहरू मध्येका सरोकारवालाहरूसँग भएको तीन दिने बैठकपछि उहाँले स्वास्थ्य विज्ञहरूको सल्लाह अनुसार तयारीका कामहरू भइरहेको बताए। त्यसै गरी विश्व स्वास्थ्य सङ्गठनका मान्यता र निर्देशिकालाई पनि ध्यान दिइएको उनको भनाइ छ।