महिलामाथि अभद्र शब्द प्रयोग पछि टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा
सिन्हवा,
प्रकाशित २०७७ माघ ३० शुक्रबार
304
Shares
टोकियो। जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् ।महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन् ।
जापानका पूर्व प्रधानमन्त्री समेत रहेका भएका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनावको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुने गरी राजीनामा दिएको बताएका छन् ।
मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो । उनले “महिलामा एक प्रकारको इर्ष्या हुने गरेको छ, एक महिलाले केही भन्न लागे अरू पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छन्” भनेका थिए।
मोरीले आफूले बोलेका कुराप्रति क्षमा मागेका छन् । तर उनको बोली र व्यवहार विरुद्ध निरन्तर आलोचना भइरहेको छ । मोरीको स्थानमा जापानी फुटबल संघका पूर्व अध्यक्ष ८४ वर्षीय काबुरो कावाबुची नियुक्त गर्ने प्रचार गरिएको छ ।