सुकीको पार्टी खारेज गर्ने म्यानमारको निर्वाचन आयोगको तयारी
एएनआई,
प्रकाशित २०७८ जेठ ८ शनिबार
221
Shares
फाइल तस्बिर
नेपिडो। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ। सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो।
गत वर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउँदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ। सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरूसँग राजधानीमा शुक्रवार भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफूहरूले विचार गरिरहेको जानकारी दिएका हुन्।
“सो पार्टीले अरू पनि अवैधानिक कामहरू गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,” उनले भने। गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो। त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो।
त्यति बेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ। म्यानमारमा सेनाले शीर्ष नेताहरूलाई बन्धक बनाउँदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ।
गत फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ।