सरकारमा जानेहरूको सूचि बनाउँदै ठाकुर, उपप्रधानमन्त्री बनेर जसपाको नेतृत्व महतोले गर्ने
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ १० सोमबार
109
Shares
फाइल तस्बिर
काठमाडौँ। केपी ओलीलाई साथ दिएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमा जाने पक्का भएको छ ।
ठाकुरले आफूहरू सरकारमा जाने निर्णयको जानकारी प्रधानमन्त्री ओलीलाई गराइसकेको स्रोतको भनाइ छ । तर सरकारमा जान ठाकुर पक्षका एक दर्जन सांसद तथा केही गैर सांसदले समेत आकाक्षा देखाएका छन् । संसद् विघटन भएकोले गैर सांसदलाई पनि मन्त्री बनाउन प्रधानमन्त्रीलाई छुट छ ।
जसपा स्रोतका अनुसार ठाकुरले प्रधानमन्त्रीसँग १० वटा मन्त्रालय मागेका छन् । स्रोत भन्छ, प्रधानमन्त्री जसपालाई ८ वटा मन्त्रालय दिन तयार भएका छन् ।
जसपाले प्रधानमन्त्रीसँग गृह मागेको छ । जसपाले गृह पायो भने उपप्रधानमन्त्री सहित गृहमा जान राजेन्द्र महतोले इच्छा देखाएका छन् । जसपाबाट नेतृत्व गर्दै महतो सरकारमा जाने करिब करिब निश्चित भएको जसपा स्रोतको भनाइ छ ।
ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको छ । यसबाट पार्टीको नेतृत्व गर्दै सरकारमा जान महतोलाई झन् सहज बनेको हो । प्रधानमन्त्रीले जसपालाई एउटा उपप्रधानमन्त्री समेत दिन तयार भएको स्रोतले बतायो ।
सरकारमा जान शरत्सिंह भण्डारी,अनिल झा र राज किशोर यादवले पनि इच्छा देखाएका छन् । भण्डारी,झा र यादव पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य समेत भएकाले उनीहरू सरकारमा जाने प्रबल सम्भावना रहेको स्रोतले बतायो ।
ठाकुर आफैँ भने सरकारमा जाने छैनन् । उनले आफ्नो तर्फबाट दुई जनालाई सरकारमा पठाउन चाहेको स्रोतको भनाइ छ । आफ्ना सम्धी उमाकान्त झा र चन्दा चौधरीलाई ठाकुरले सरकारमा पठाउन चाहेका छन्। ठाकुरकै सिफारिसमा उमाकान्तलाई तत्कालीन शेरबहादुर देउवा सरकारले प्रदेश ५को प्रदेश प्रमुख बनाएको थियो । खिलराज रेग्मी नेतृत्वको सरकारमा झा सिचाइ मन्त्री पनि भएका थिए । त्यस बेला पनि उनी ठाकुरको सिफारिसमा मन्त्री भएका थिए ।
ठाकुर निकट नेता इकबाल साह र सर्बेन्द्रनाथ शुक्लले पनि मन्त्री हुने इच्छा देखाएका छन् । शुक्ल सरकारसँग वार्ता गर्न गठन गरिएको कार्यदलका सदस्य पनि हुन् । ठाकुरकै कोटाबाट सरकारमा जान साह र शुक्लले प्रयास गरेका छन् । कार्यदलमा रहेका अर्का सदस्य लक्ष्मणलाल कर्ण पनि यस पटक मन्त्री हुन चाहेका छन् । सरकारमा गए भने उनी महतो कोटाबाट जानेछन् ।
मन्त्री हुनकै लागि उपेन्द्र यादव पक्षका केही सांसदहरु कित्ता परिवर्तन गरी ठाकुर–महतो कित्तामा गएका छन् । केही दिन अघि मात्र रेणुका गुरुङ, कल्लुदेबी विश्वकर्मा र रुहीनाथले कित्ता परिवर्तन गरी ठाकुर कित्तामा गएका छन् । यसअघि, उमाशङ्कर अरगरैया र विमल श्रीवास्तवले कित्ता परिवर्तन गरी ठाकुर— महतो कित्तामा गएका छन् । कित्ता परिवर्तन गरेकाहरूलाई मन्त्री कोलागि सिफारिस गर्नुपर्ने दबाब ठाकुर महतो पक्षलाई छ ।
कित्ता परिवर्तन गरेका ५ सांसद मध्ये अरगैयरा र श्रीवास्तवलाई ठाकुरले मन्त्रीमा पठाउने सम्भावना प्रबल रहेको स्रोतले बतायो । स्रोतले भन्यो,‘सरकारमा जान आवश्यकभन्दा धेरै नेताले इच्छा देखाउनु भएकोले पनि मिलाउन गाह्रो भएको छ ।’ सरकारमा जाने नेताहरूको सूचि तयार हुने बित्तिकै प्रधानमन्त्रीलाई पठाइने जसपा स्रोतले बतायो ।
ठाकुर महतो पक्षका नेता अरगरैयाले जसपाले राखेका माग सरकारले पूरा गर्न लागेको र केही माग पूरा गरेकोले आफूहरू सरकारमा जाने प्रबल सम्भावना रहेको बताए । तर सरकारमा जाने दिन भने अझै तय नभएको उनले जनाए । स्रोतका अनुसार आज भोलि नै सरकारमा जान ठाकुर—महतो पक्षका नेताहरूले चासो देखाएका छन् ।
ठाकुर महतो पक्षका नेताहरू सरकारमा जान लागेको थाहा पाएर उपेन्द्र यादव पक्षले आइतबार कार्यकारिणी समितिको बैठक गरी सरकारमा जाने बित्तिकै पार्टीबाट स्वतः निकाल्ने निर्णय गरेको छ । उपेन्द्र यादव पक्षको यस्तो निर्णयबाट आफूहरू सरकारमा जाने सोचमा कुनै फेरबदल नभएको ठाकुर —महतो पक्षका नेताहरू बत्ताउँछन् ।