काठमाडौं। कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट १७ जना व्यक्तिलाई कार्यकारिणी सदस्य मनोनित गरी यस सम्बन्धी नामावली अद्यावधिक गर्न निर्वाचन आयोगमा नाम बुझाएका छन् ।
आयोगमा नाम बुझाउन अध्यक्ष ठाकुर आफै आयोग पुगेका थिए । ठाकुर निकट नेता राजिव झाले ठाकुरले गरेको मनोनयन निर्वाचन आयोगमा बुझाइएको बताए । मनोनयनमा उनलाई पनि समेटेएिको छ ।
ठाकुरले मनोनित गरेको व्यक्ति ठाकुर र राजेन्द्र महतो निकट मात्र छन् । ठाकुरले आफू निकट १० जना र महतो निकट ७ जना नेतालाई कार्यकारिणी समितिको सदस्यमा नियुक्त गरेका छन् । उनले दुई वटा अध्यक्ष मध्ये एउटा अध्यक्षको नाम खाली राखेका छन् । पहिलो अध्यक्षमा उनले आफ्नो नाम राखेका छन् ।
ठाकुरले उपेन्द्र यादव निकट कार्यकारिणी समितिका सदस्यहरुको नाम हटाइ त्यसको ठाउमा आफूले मनोनित गरेका सदस्यहरुको नाम राखेका छन् ।
जसपामा दुई अध्यक्ष रहने व्यवस्था भने उनले कायमै राखेका छन् । ठाकुरले पठाएको सूचिमा कार्यकारिणी समितिको संख्या ५१ राखिएको छ । ठाकुरले थपेको कार्यकारिणी सदस्यहरूमा डा।विजय सिंह, सुरेन्द्र झा, बिमल श्रीवास्तव, राजिव झा, उमाशंकर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदिप यादव, सुरेश मण्डल,लगायतका छन् ।
आयोगमा बुझाइएको सूचिमा ठाकुरले मात्र हस्ताक्षर गरेका छन् । स्रोतका अनुसार कार्यकारिणी समितिमा मनोनयन गर्दा ठाकुरले पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु शरत्सिंह भण्डारी, अनिल झा र राजकिशोर यादवको तर्फबाट एक जनालाई पनि समेटेका छैनन् । यहाँसम्म कि, भण्डारी निकट मानिएका राष्ट्रिय सभा सदस्य शेखर सिहंलाई पनि कार्यकारिणीमा राखिएको छैन । ठाकुर निकट नेता राजिब झाले ठाकुरले गरेको मनोनयनले बैधानिकता पाउने दावी गरे । पहिलो अध्यक्षले गरेको मनोनयन बैधानिक हुने उनको तर्क छ ।
यता निर्वाचन आयोगको निर्णयविरुद्ध पुन निर्वाचन आयोगमा जाने कि सर्वोच्चमा जाने भन्ने विषयमा टुंगो लगाउन उपेन्द्र यादवले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएका छन् । आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने यादवले घोषणा गरेका छन् ।
जसपाका अध्यक्षद्धय ठाकुर र यादवले एकले अर्कोलाई पार्टीबाट निकालेको घोषणा गरको छन्। तर आयोगले भने दुबैको निष्कासन कानुनसम्मत नभएको दुई अध्यक्ष रहने गरी साविककै पदाधिकारीलाई मान्यता दिने निर्णय गरेको छ ।