काठमाडौं । सोमबार अपरान्ह शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा १ सय ४६ सांसदले हालेको रिटमा आज(मंगलबार) सुनुवाई नहुने भएको छ ।
विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले परमादेश लगायतका आदेश माग्दै दायर गरेको रिट मंगलबार पेशीमै नचढेको हो । सर्वोच्च अदालतले सार्वजनिक गरेको दैनिक पेशी सूचीमा मंगलबारका लागि दुईवटा मात्र इजलाश तोकिएका छन् ।
दुई इजलाशमा न्यायाधीश दीपक कार्की र सपना प्रधान मल्लको इजलाशमा बन्दी प्रत्यक्षीकरण लगायतका चार तथा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा एउटा मुद्दा छ ।
दुबै इजलाशमा प्रतिनिधिसभा विघटन अवैधानिक भएको र संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित दायर २८ वटा रिटको पेशी उल्लेख छैन ।
देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव, नेपाल, उपेन्द्र यादवसहित नेताहरु अदालत गएर रिट दायर गरेका थिए । कांग्रेस, माओवादी केन्द्र, एमालेका नेपाल तथा जसपाको यादव पक्षका १४६ सांसदले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै धारा ७६ को उपधारा ५ बमोजिम नयाँ प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै रिट निवेदन पेश गरेका थिए ।