काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले गैरजिम्मेवारी विभिन्न क्षेत्रका व्यक्तिहरु तलदेखि माथिसम्म मिलेका हुने भन्दै जे गर्दा पनि रुनुपर्ने नेपाल आमालाई ? भन्दै प्रश्न गरेका छन् । सामाजिक संजाल फेसबुकमा आफ्नो विचार पोख्दै नेता भण्डारीले नेपाल आमा आफ्नै सन्तानहरुबाट रुनुपर्ने अवस्था दुखद भएको समेत लेखेका छन् ।
उनले सबै नेपालीको चाहना नागरिकताविहीन नागरिक बन्नु हुँदैन भन्ने नै रहेको बताएका छन् । उनले तराईवासी जनताको चाहना पनि यही नै भएको बताएका छन् । तर कुनै पनि बहानामा वा यसको वा त्यसको राजनीतिक लाभहानीका नाममा तराइएका स्थायी वासिन्दालाई अल्पमतमा पार्ने काम गलत भएको उनले बताएका छन् ।
पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत नागरिकता विधेयक ल्याएपछि डा. भण्डारीले चरम असन्तुष्टि व्यक्त गरेका हुन् । उनले लुकेर अँध्यारो बाटो हुँदै अध्यादेशबाट काम गर्नु नपर्ने भन्दै सबै नेपाली विवेकशील भएको समेत उल्लेख गरेका छन् ।
यस्तो लेखेका छन् उनले, ‘सबै नेपालीको चाहना नागरिकताविहिन नागरिक बन्नु हुदैन भन्ने हो । तराईवासी जनताको चाहना पनि यही नै हो । तर कुनै पनि बहानामा वा यसको वा त्यसको राजनीतिक लाभहानीका नाममा तराईका स्थायी बासीन्दालाई अल्पमतमा पार्ने काम गलत हो । लुकेर अँध्यारो बाटो हुँदै अध्यादेशबाट काम गर्नुपर्दैन, सबै नेपाली विवेकशील छन । विश्वमा नागरिकता नियम कमै परिवर्तन हुने गर्दछ । नेपालमा त चोर बाटोबाट सत्ता र पैसासँग नागरिकताको दुकान थापिन्छ । भुटानीको नाममा लाखौं एकै दिनमा आउँछन्, रोहिन्या मुसलवान बर्माबाट कसरी आएका छन् ? गैर जिम्मेवार विभिन्न क्षेत्रका व्यक्तिहरु तल देखि माथी सम्म मिलेका हुन्छन। देश जनता र समाजका मुद्दा उठाउनेहरुलाई हराउन लागेका धेरै उदाहरण छन । जे गर्दा पनि रुनु पर्ने नेपाल आमालाई ?? आफ्नै सन्तानबाट ? त्यो पनि पटकपटक र जिम्मेवार व्यक्तिबाट...’