बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध उत्रिनुपर्छ : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
558
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रिनु आवश्यक भएको औंल्याएका छन् ।
गौतम बुद्धको २५६५ औं जन्मजयन्ती तथा उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिंदै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गरेका हुन् ।
उनले सन्देशमा भनेका छन्, ‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ । दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ । त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं ।’
उनले अगाडी लेखेका छन्,'बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउँदैन । पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ । त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु ।’