भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरू कुट्ने तीन जनामाथि ज्यान मार्ने उद्योगको मुद्दा
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
506
Shares
नेपालगन्ज। बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।गएराति दाङको तुलसीपुर ११ उरहरीका ५२ वर्षीय कोरोना सङ्क्रमित बिरामी डिल्ली बहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टर र नर्सलाई हातपात गरेका थिए ।
घटना लगत्तै बाँके प्रहरीले राति नै तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जना मृतकका भाइहरू मानबहादुर बस्नेत, भरत रावत र छोरा लोकराज रावत विरुद्ध आज ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काले बताए ।
घटना लगत्तै राति नै सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी काम थालेको छ । आरोपीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि स्वास्थ्यकर्मीहरूले आन्दोलन स्थगित गरेका छन् ।
विरामीको मृत्युपछि उनका कुरुवा र आफन्तले आइसियु कक्षमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीले शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । डा. चन्द्रप्रकाश साहु, नर्सहरू सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विनी गुरुङले आक्रमणबाट ज्यान जोगाउन पहिलो तलाबाट हाम फालेर भागेको बताएका छन् ।