काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभालाई हठात् रुपमा गलत मनशायका साथ पटक पटक विघटन गरिनुले कतै गणतन्त्रलाई समाप्त गर्ने कोशीस भैरहेको त छैन भन्दै आशंक ब्यक्त गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै नेपालले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित नहुने पनि बताएका छन् ।
उनले सन्देशमा लेखेका छन्, ‘प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी पनि प्रतिनिधि सभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम हो । संवैधानिक मूल्य र मान्यता विपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लीई आफू मातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न सकिदैन।’
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान समेतमा गम्भीर खतरा उत्पन्न हॅुदा सशक्त आवाज उठाउनु गणतन्त्रप्रेमी र देशभक्त नागरिकलाई नेपालले आब्हान पनि गरेका छन् ।