काठमाडौं । चीनबाट मंगलबार नौ लाख कोरोना भाइरसविरुद्धको खोप काठमाडौं ल्याइँदैछ । चीनले अनुदानमा दिने भनेको १० लाख भेरोसिल खोपमध्ये नौ लाख डोज खोप मंगलबार काठमाडौं ल्याइन लागेको हो ।
त्योमध्ये आठ लाख चीनको राजधानी बेइजिङबाट ल्याउन नेपाल वायुसेवा निगमको मेडिकल कार्गो विमान सोमबार राति नै बेइजिङ गइसकेको छ । उक्त विमानबाट मंगलबार दिउँसो २ बजे काठमाडौंमा खोप ल्याइसकिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
त्यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने दुई लाखमध्ये मंगलबार एक लाख र बुधबार एक लाख खोप ल्याइने छ ।
दुवै खोप हिमालयन एयरलाइन्सका चार्टर्ड विमानमार्फत ल्याइने छ ।
कसले लगाउन पाउँछन् यो खोप ?
चीनबाट यसअघि आएको आठ लाख डोज खोप १८ देखि ५९ वर्षको समूहले लगाएको थियो । यसको प्रभावकारीता बढी नै भएको दाबीसमेत गरिएको छ ।
यसबालिको खोप भने ६० देखि ६४ वर्ष उमेर समूहले लगाउन पाउने सम्भावना रहेको पनि बताइएको छ । खोपको मात्रा कम भएका कारणले १८ देखि ५९ वर्ष उमेर समूहले पनि पूर्ण खोप पाइसकेको छैन ।
तर ६० देखि ६४ वर्ष उमेर समूह भने दुवै खोप (भारतबाट पहिलो पटक आएको कोभिशिल्ड र चीनबाट आएको भेरोसिल) लगाउनबाट वञ्चित रहेको छ ।
त्यसैले पनि यसपालि यो समूहलाई खोप दिने प्रवल सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोत बताउँछ ।
खोप आएपछिमात्र छलफल गरी टुंगो लगाउने पनि स्रोत बताउँछ ।
के हुँदैछ कोभिशिल्ड ल्याउन पहल ?
६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकले गत फागुन २३ देखि चैत २ सम्म कोभिशिल्ड खोपको पहिलो डोज लगाएकामा अहिलेसम्म दोस्रो डोज लगाउन पाएका छैनन् ।
पहिले एक महिना हुँदै अहिले कोभिशिल्डको दोस्रो डोज चार महिनासम्ममा लगाउन मिल्ने बताइएको छ । तर त्यो अवधिभित्र पनि खोप ल्याउने बारेमा सरकार निराश देखिएको छ ।
भारतबाट आउने उक्त खोप तत्काल आउने सम्भावना नभएको बताइन्छ । भारत सरकारले आफ्नो देशमा सबैले खोप नलगाएसम्म विदेशमा कुनै पनि खोप निर्यात नगर्ने निर्णय गरेको छ ।
जसको मारमा नेपाल परेको छ । नेपालले १० लाख डोज कोभिशिल्ड खोपका लागि भुक्तानीसमेत गरिसकेको छ । ज्येष्ठ नागरिकको ज्यान जोखिममा रहँदासमेत यसका लागि गम्भीर पहल गरी पहिले नै खरिद गरिसकेको डोज ल्याउन उचित पहल हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पहल जारी रहेको बताउँदै आएका छन् । तर उनको भनाइमा भने नेपालले तत्काल खोप पाउने कुनै लक्षण देखिँदैन । उनले मिडियालाई भारतीय विदेशमन्त्री त हप्ता बढी समयदेखि अमेरिकामै ढुकेर खोप आफ्नो देशमा ल्याउन पहल गरिरहेका अवस्थामा नेपाललाई भारतले खोप दिनेजस्तो लक्षण आफूले नदेखेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नै ‘खोप कूटनीति’ मा आफूलाई सक्रिय बनाउँदै आएकी छिन् ।
उनले भारतीय समकक्षीलाई पत्रसमेत लेखेकी छिन् । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग वार्ता गरेकी थिइन् । त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि पत्र लेखेकी छिन् ।
दोस्रो पटक संसद विघटन गरेर आलोचित बनेकी राष्ट्रपतिलाई खोपका लागि पहल गरेर जनताको सहानुभूति बटुल्नका लागि सरकारले अर्को कदम चालेको आरोप पनि विपक्षी दलहरुले लगाएका छन् ।
खोप उत्पादन मुलुकहरुमा नेपाली राजदूतहरु भएका बेलामा तिनीहरुले कुनै भूमिका नै नखेलेको सन्दर्भमा केपी शर्मा ओली नेतृत्वको सरकारले जानीजानी राष्ट्रपति भण्डारीलाई सक्रिय बनाएको पनि आरोप छ ।