काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्व आक्रान्त छ । तर यही आक्रान्तबीच सबैभन्दा मानिस संक्रमित भएको र ज्यान गुमाएको अमेरिकामा फेरि खुशी फर्किन थालेको छ ।
कोरोना भाइरस विरुद्ध कुनै औषधि आइनसकेको अवस्थामा खोप नै सबैभन्दा उत्तम विकल्प भएको छ । अमेरिकामा कोरोना विरुद्धको खोपको नतिजा निकै राम्रो आएसँगै युवाहरुले खुशी महशुस गरिरहेका छन् । सीएनएनले लेखेअनुसार अमेरिकामा औसत ५० प्रतिशतभन्दा बढी युवाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । अमेरिकालाई पुनः पुरानै अवस्थामा फर्काउने तयारीसमेत भइरहेको छ । धेरैजसो राज्यहरुले त मास्कको अनिवार्यता हटाइसकेका छन् । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रले पनि खोप लगाइसकेका मानिसहरुका लागि मास्कको अनिवार्यता हटाइसकेको छ ।
त्यसकै फलस्वरुपः यतिबेला खुलेको मौसममा अमेरिकीहरु बाहिर घुम्न निस्केका छन् । सुरक्षित महशुस गर्दै ४ करोड अमेरिकीहरु पर्यटन यात्रामा निस्केका हुन् । उनीहरु समुद्री तटका साथै ऐतिहासिक तथा सुन्दर स्थानहरुमा घुमिरहेका पाइन थालेका छन् ।
विमानस्थलहरुमा हजारौं यात्रुको भीड देख्न थालिएको छ । बाहिर निस्कनका लागि मास्कसमेत जरुरी देखिएको छैन । अमेरिकामा सोमबार मेमोरियल डे मनाइँदा थुप्रै स्थानमा रौनक छायो ।
अमेरिकामा समग्रमा ४० प्रतिशत भन्दा बढीले कोरोनाको खोप लगाइसकेका छन् । विशेषगरी तिनै खोप लगाएकाहरु क्यालिफोर्निया, फ्लोरिडा लगायतका पर्यटकस्थलमा हजारौंको संख्यामा भेला भएका छन् ।
फ्लोरिडामा ९० को दशकको तुलनामा गर्मी बढेको छ ।