काठमाडौं । चीनले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको खोप भेरोसिल जेठ २५ गतेदेखि लगाउन शुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप १० लाख खोप जेठ २५ देखि लगाउन थालिने छ ।
यसपालि ६० देखि ६४ वर्ष उमेरको समूहलाई प्राथमिकतामा राखेर खोप लगाउने मन्त्रालयले जनाएको छ । यसअघि कुनै पनि खोप यो उमेर समूहले लगाउन पाएको थिएन ।
यो उमेर समूहका नागरिकले आफूहरु राज्यबाट हेपिएको गुनासो गर्दै आएका छन् । यसअघि चीनले अनुदानमा दिएको ८ लाख भेरोसिल भने १८ देखि ५९ वर्ष उमेर समूहकाले लगाउन पाएका थिए ।
त्यस्तै भारतबाट ल्याएको कोभिशिल्ड खोप फ्रन्टलाइनरसँगै ६५ वर्षदेखि माथिको उमेरसमूहलाई दिइएको थियो ।
चीनले यसपालि अनुदान दिने घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप मंगलबार काठमाडौं आइसकेको छ भने एक लाख डोज बुधबार आउँदैछ ।
संसद विघटन गरेर आलोचित भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको शाख जोगाउन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई अग्रसर बनाउने क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गराएको थियो ।
उक्त संवादका क्रममा सीले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।
के हुँदैछ कोभिशिल्ड ल्याउन पहल ?
६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकले गत फागुन २३ देखि चैत २ सम्म कोभिशिल्ड खोपको पहिलो डोज लगाएकामा अहिलेसम्म दोस्रो डोज लगाउन पाएका छैनन् ।
पहिले एक महिना हुँदै अहिले कोभिशिल्डको दोस्रो डोज चार महिनासम्ममा लगाउन मिल्ने बताइएको छ । तर त्यो अवधिभित्र पनि खोप ल्याउने बारेमा सरकार निराश देखिएको छ ।
भारतबाट आउने उक्त खोप तत्काल आउने सम्भावना नभएको बताइन्छ । भारत सरकारले आफ्नो देशमा सबैले खोप नलगाएसम्म विदेशमा कुनै पनि खोप निर्यात नगर्ने निर्णय गरेको छ ।
जसको मारमा नेपाल परेको छ । नेपालले १० लाख डोज कोभिशिल्ड खोपका लागि भुक्तानीसमेत गरिसकेको छ । ज्येष्ठ नागरिकको ज्यान जोखिममा रहँदासमेत यसका लागि गम्भीर पहल गरी पहिले नै खरिद गरिसकेको डोज ल्याउन उचित पहल हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पहल जारी रहेको बताउँदै आएका छन् । तर उनको भनाइमा भने नेपालले तत्काल खोप पाउने कुनै लक्षण देखिँदैन । उनले मिडियालाई भारतीय विदेशमन्त्री त हप्ता बढी समयदेखि अमेरिकामै ढुकेर खोप आफ्नो देशमा ल्याउन पहल गरिरहेका अवस्थामा नेपाललाई भारतले खोप दिनेजस्तो लक्षण आफूले नदेखेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नै ‘खोप कूटनीति’ मा आफूलाई सक्रिय बनाउँदै आएकी छिन् ।
उनले भारतीय समकक्षीलाई पत्रसमेत लेखेकी छिन् । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग वार्ता गरेकी थिइन् । त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि पत्र लेखेकी छिन् ।
दोस्रो पटक संसद विघटन गरेर आलोचित बनेकी राष्ट्रपतिलाई खोपका लागि पहल गरेर जनताको सहानुभूति बटुल्नका लागि सरकारले अर्को कदम चालेको आरोप पनि विपक्षी दलहरुले लगाएका छन् ।
खोप उत्पादन मुलुकहरुमा नेपाली राजदूतहरु भएका बेलामा तिनीहरुले कुनै भूमिका नै नखेलेको सन्दर्भमा केपी शर्मा ओली नेतृत्वको सरकारले जानीजानी राष्ट्रपति भण्डारीलाई सक्रिय बनाएको पनि आरोप छ ।