काठमाडौं । नेकपा एमालेका नेता एवम पूर्वमन्त्री गोकर्ण विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काउने अभियानमा दृढ रहेको स्पष्ट पारेका छन् ।
आफ्नो नाम जोडेर केही संचारमाध्यममा गलत समचार सम्प्रेषण भएकोप्रति आपत्ति जनाउँदै विष्टले पार्टी एकताका लागि अन्तिम समयसम्म लड्ने प्रतिवद्धता पनि जनाएका छन् ।
विहीबार सामाजिक संजालमार्फत आफ्नो प्रतिक्रिया लेख्दै विष्टले एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि झुठा प्रचार गराउँदै छन् ? भनेर प्रश्न पनि गरेका छन् ।
उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।
पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’