माधव नेपाल निकट १७ भातृ सङ्गठनको निष्कर्ष : ओलीबाट संविधान नै गुम्ने खतरा छ
सबै संरचना २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ २० बिहिबार
230
Shares
फाइल तस्बिर
काठमाडौं । नेकपा एमाले भित्रको माधव नेपाल समूहमा रहेका १७ भातृ सङ्गठनले प्रधानमन्त्री केपी ओलीबाट संविधान नै गुम्ने खतरा भएको बताएका छन् । बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक व्यवस्था र संविधान नै गुम्ने खतरा पैदा भएको भनेका हुन् ।
उनीहरूले आफूहरू अहिले पनि एकतावद्ध एमालेकै पक्षमा रहेको र जनसङ्गठनका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणासमेत गरे ।
यसरी विज्ञप्ति जारी गर्ने नेपाल निकट १७ भातृ सङ्गठन र पदाधिकारीमा किसान महासङ्घका अध्यक्ष बलराम बास्कोटा, महिला सङ्घकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा सङ्घका नरेश शाही, प्रेस चौतारीका विश्वमणी सुवेदी, नेपाल खेलकुद महासङ्घका पुरुषोत्तम पौडेल, जिफन्टका विषु लम्साल, पेसागत महासङ्घ नेपालका विश्वनाथ प्याकुरेल लगायत छन् ।
उनीहरूले अध्यक्ष ओलीले अवैधानिक रूपमा एकतर्फी निर्णय गरेर पार्टीलाई छिन्नभिन्न पार्न खोजेको आरोपसमेत लगाएका छन् । ती निर्णयहरू खारेज योग्य रहेको उनीहरूले दाबी छ ।
विज्ञप्तिमा पार्टी विधान विपरीत गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन सङ्कटमा परेको भन्दै संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकताबद्ध एमाले निर्माणको लागि आग्रहसमेत गरिएको छ ।