खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई बिरामीको उद्धारमा खटिएका छन् ।
आफै गाडी चलाउने अध्यक्ष राईले पीपीइ पहिरिएर बिरामीलाई दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पतालसम्म पुर्याउने र एन्टीजेन परीक्षण गराउने कार्यमा दिन विताउने गरेका छन् ।
पीपीइ लगाएका अध्यक्ष राईले बिरामीलाई घरमा लिनजाने, डोर्याएर वा पिठ्यूमा बोकेर बिरामीलाई गाडीसम्म पुर्याएर अस्थायी कोभिड अस्पतालमा लैजाने गरेका छन् ।
कोभिड–१९ को महामारी फैलिएपछि बिरामीको उद्धार गर्ने, अस्थायी कोभिड अस्पतालमा लगेर एन्टीजेन परिक्षण गर्ने, संक्रमण पुष्टि भए स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनमै दिन बित्ने गरेको गाउँपालिका अध्यक्ष राईले बताए ।
गाउँपालिका अध्यक्ष राईले बुधबार मात्र याम्खा खामडाँडाकी ८८ वर्षीया वृद्धा संक्रमितलाई ढाडमा बोकेर गाडीमा हालेर अस्थायी कोभिड अस्पताल पुर्याएका थिए ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ७ वटै वडामा सेड्यूल बनाएर एन्टीजेन परीक्षण गरिएको थियो । निर्धारित समय तालिका अनुसार वडा/वडामा एन्टीजेन परीक्षणपछि हाल बिरामी भएको खबर आएका ठाउँमा एन्टीजेन परीक्षणका लागि स्वास्थ्यकर्मीसहित पुग्ने र गम्भीर अवस्थाका बिरामीलाई गाडीमा हालेर अस्थायी कोभिड अस्पताल पुर्याउने गरिएको छ ।
गाउँपालिकाको गाडी र एम्बूलेन्स चलाउनका लागि दुई जना चालक नियुक्त गरिएको छ । एम्बूलेन्सका चालकलाई कोभिड संक्रमण भएर बसिरहेका छन् ।
गाउँपालिकाको गाडी चालक पनि पारिवारिक समस्याले विदामा बसेपछि आफैंले गाडी चलाएर बिरामीको उद्धारमा खट्ने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।