काठमाडौँ। नयाँ दल खोल्ने तयारीमा रहेका एमालेका निष्कासित नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपाले साना कम्युनिस्ट पार्टीहरूलाई पनि समेट्ने तयारी गरेका छन्। आफ्नै समूहमा दोस्रो तहका युवा नेताले पार्टी एकता जोगाउन अन्तिम पहल गर्नुपर्ने अडान लिए पनि नेता नेपाल साना कम्युनिस्ट पार्टीहरूलाई सँगालेर एउटा पार्टी बनाउन खोजिरहेका छन्।
कुनै बेला पूर्व प्रधानमन्त्रीहरूको क्लब बनाउनु पर्यो भन्दै दौडधुप गरेका नेता नेपालले एमाले विभाजन गरेर कम्युनिस्ट घटकहरूलाई मिलाउने प्रयासमा लागेका छन्।
गत आइतबारदेखि जनवर्गीय सङ्गठन र पार्टी कमिटीका नेताहरूसँग छलफल गरेका नेता नेपालले शुक्रवार केन्द्रीय कमिटी र शनिवार भर्चुअल मध्यमबाट बसेको स्थायी कमिटीको बैठकमा दोस्रो तहका नेताहरूले पार्टी एकता जोगाउन पहल गर्नुपर्ने अडान लिए पनि नेता नेपाल भने विभाजनको अन्तिम अन्तिम अवस्थामा पुगेका छन्। नेता नेपाल अहिले नयाँ पार्टी गठन गर्ने कि अध्यक्ष ओलीसँग वार्ता गर्ने भन्नेमा अलमलमा नरहेको तर उनलाई कति नेताले साथ दिन्छन् भनेर लेखाजोखा गरिरहेका छन्।
घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, नारायण खतिवडा, गणेश पहाडी, लगायतका अधिकांश नेता पार्टी एकता जोगाउनुपर्ने पक्षमा छन्।
उनीहरू ओली पक्षसँग नेताहरू सुवास नेम्वांङ प्रदीप ज्ञवालीसँग निरन्तर संवादमा छन्। शनिवार स्थायी कमिटी सदस्यहरूसँगको छलफलपछि नेपाल समूहले संसद् विघटनविरुद्धको मुद्दा किनारा नलागेसम्म नयाँ पार्टी गठनको प्रक्रिया अगाडि नबढाउने निष्कर्षमा पुगेकाले अहिले वडा तहसम्म नै समानान्तर कमिटीलाई बनाउन तीव्रता दिने भएका हुन्।
‘अहिले बनेको समानान्तर कमिटी नै भोलिको दिनमा नयाँ दलको कमिटी बन्नेछ’, नेपाल समूहका एक नेताले भने। उनका अनुसार अहिले नेता नेपाल विभिन्न कम्युनिस्ट घटकका नेताहरू छलफल गरिरहेका छन्।
नेपालले सर्वोच्च अदालतबाट मुद्दाको किनारा नलाग्दासम्म एकताको प्रयास जारी राख्दै अगाडि बढ्ने निष्कर्ष नेताहरूको बैठकले निकालेका छन्। यद्यपि आफू निकटका नेताहरू पाखा लाग्ने वा ओली समूहले तान्न सक्ने सम्भावना रहेका नेपालले चाडै नै नयाँ दल खोल्नु पर्ने निष्कर्षमा पुगेका हुन्।
‘एकताका लागि कार्यदल बनेर छलफलको प्रारम्भ हुँदा नहुँदै ओली संसद् विघटनतिर लागे, उनले आफ्ना त्रुटि, प्रतिगमनकारी क्रियाकलाप नसच्याई उनीसँग सार्थक वार्ता सम्भव छैन तर, हामी अहिले नै पार्टी दर्ता गरिहाल्ने अवस्थामा पनि छैनौँ ,’ नेपाल समूहका एक नेताले भने।
अहिले नेताहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू ओली पक्षसँग अनौपचारिक वार्तामा छन्। ‘वार्ता जारी रहे पनि उहाँ (ओली) ले आफ्नो गल्ती कमजोरी नसच्याउँदासम्म एकता सम्भव छैन।
हामी आन्तरिक तयारी पनि गर्दछौँ, ती नेताले भने। अधिकांश नेताले वार्ताकै पक्ष राय राखेपछि नेपालले आफू वार्ता विरोधी नभएको जवाफ दिएका थिए। ‘म वार्ताको विरोधी होइन। पार्टी एकताका लागि प्रयत्न गरेकै हो’, नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘म होइन, ओलीजी एकताको पक्षमा हुनुहुन्न। मैले प्रयास गर्दा पनि उहाँले नै ध्यान दिनुभएन। सम्पर्क, सम्बन्ध र कम्प्रोमाइजमा आउनुभएन।’
तर ओली पक्षका नेताहरूले अहिले माधव नेपाल नै बढी रिजेक्ट भएका कारण पार्टी विभाजनको दिशातिर गएको बताएका छन्। ओलीले २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउन तयार भएको बेला नेता नेपालले सर्तमाथि सर्त थोपरेर पार्टीबाटै बाहिरिन खोजेको ओली पक्षका नेताको दाबी छ। लामो समयदेखि नयाँ दल गठनको तयारी गरिरहेको भए पनि नेपाल समूह दुई धारमा विभाजित हुँदा समस्या उत्पन्न भएको थियो।
नयाँ पार्टी बनाएर अगाडि बढ्नुपर्ने पक्षमा नेताहरूको बहुमत भए पनि केही नेताहरू छुट्ने डर नेता नेपाललाई छ। शनिवार जिल्ला अध्यक्ष र सचिवहरूको भेलामा नेता नेपालले पनि नयाँ पार्टी गठनका विषयमा समूहभित्रै दुई मत देखिएपछि नेता नेपालले अहिले सङ्घर्ष र रूपान्तरणको नीति नै प्रभावकारी हुने बताएका थिए। भर्चुअल बैठकमा सहभागी ती नेताका अनुसार नेता नेपाल तत्काल नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने सोचमा भए पनि केही नेताहरूको कारण रोकिएका छन्।