काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा जेष्ठ नागरिकका लागि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानमा विवाद भएको छ । विवादका कारण खोप कार्यक्रम स्थगित गरिएको छ ।
६० देखि ६४ वर्षका मानिसका लागि ल्याइएको खोपलाइ अनधिकृत रूपमा नगरपालिकाले साना उमेरका व्यक्तिहरुलाई लगाएको भन्दै विवाद चर्किएको हो ।
सरकारले २०७८ जेठ २५, २६ र २७ गते तोकेको लक्षित समूहलाई खोप लगाउने भनिएपनि नगरपालिका कार्यालयभित्र ल्याएर जनप्रतिनिधिका कार्यकर्ता तथा आफन्तलाइ खोप लगाउन थालेपछि विवाद बढेको थियो ।
नगरपालिकाले खोप केन्द्र भनेर दुइ स्थानमा दिउँसो ३ बजेसम्ममात्र खोप लगाएर बाँकी नगरपालिका कार्यालयभित्र ल्याएर जनप्रतिनिधिका कार्यकर्ता तथा आफन्तलाइ लगाइएको भन्दै स्थानीयले विरोध गरेका थिए ।
विवाद चर्किएपछि नगर प्रमख उद्धव खरेल जेठ २८ गते विज्ञप्ति जारी गर्दै खोप कार्यक्रम स्थगित भएको जनाएका छन् । शुरुमा नगरपालिकामा आएको खोप सकिएपछि फेरि पाँच सय प्रति मगाइएकाले २८ गतेबाट वाँकी रहेको खोप लगाउन छुटेका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार, महिला स्वास्थ्य स्वयम सेविकालाई लगाउने भनिएपनि अप्रत्यासित चाप बढेकाले खोप उपलब्ध गराउन नसक्ने भन्दै स्थगित गरिएको नगर प्रमुख खरेलले जनाएका छन् ।
तर नगर प्रवक्ता नवराज भट्टराई पार्टीका कार्यकर्तालाई खोप वितरण गरेको भन्ने हल्ला निराधार रहेको बताउँछन् । उनले हाम्राकुरासँग भने,‘छुट भएका जनप्रतिनिधि र कर्मचारीलाई लगाउन खोज्दा बाहिरका व्यक्तिहरुले लगाउन नपाउँदा बेग्लै ढंगले ट्वीस्ट गरिएको हो ।’ आइतबार कार्यालय खुलेपछि आवश्यक छलफलपछि खोप अभियान संचालन गरिने पनि उनले जानकारी दिए ।
यता, कम्युनिष्ट पार्टीबाट विजयी मेयर खरेललगायत केही वडाध्यक्षहरूको रोहबरमा कार्यकर्ताहरुलाई खोप लगाउन थालेपछि स्थानीयले विरोध गरेका थिए । लक्षित उमेर समूहलाइ भनेर ल्याइएको खोपलाइ कार्यकर्तालाई वितरण गरिएको भन्दै नगर परिसरमा झडपको अवस्था सिर्जना भएको थियो ।
स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार खोपमा मनपरी बढेपछि ठूलो समूहमा नागरबासीहरु नगरपालिका घेर्न पुगेपछि मेयर खरेलले सुरक्षाकर्मीलाई बोलाएर दमन गर्न खाजेको बताएका छन् ।
मेयर समक्ष बुझन खोज्दा खोप अभियान स्वास्थ्य शाखाको भएको र स्वास्थ्य शाखाले नै सो काम गरेको पन्छिएका थिए । तर मेयरकै कार्यकक्षबाट खोप वितरण गरिएको स्थानीयहरु बताउँछन् ।
‘बाँकी रहेको खोप नगरपालिका भित्रका स्वास्थ्यकर्मी, कर्मचारी र पत्रकारहरु साथै उनीहरुका केही परिवार संक्रमित भएकाले लगाउन खोजेका हौं । तर कार्यक्रमलाई अन्यन्त्रै मोडियो र विवाद झिक्न खोजियो,’ स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले भने,‘राम्रै गर्न खोजेका हौं तर विषयलाई मोडेर राजनीतिकरण गर्ने प्रयास भयो । खोप फेरि पनि आउँछ सबैजना संयम र धैर्य रहनुपर्छ ।' नगरपालिकाको सम्पर्कमा आएका लक्षित समूहका सबै ब्यक्तिलाई खोप लगाइएको उनले जानकारी दिए ।