कांग्रेसको क्रियाशील सदस्यता सफ्टवेयरमा इन्ट्री, यस्तो छ पछिल्लो अवस्था
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
265
Shares
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले ३३ जिल्लाका थप ६५ स्थानको नामावली सार्वजनिक गरेको छ । शनिबारको बैठकको निर्णय अनुसार पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको प्रक्रिया पुर्याई विवादरहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि नेपाली कांग्रेसको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।
यसअघि नै कांग्रेसले १०१ स्थानको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि कांग्रेसको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिसकिएको कांग्रेसले जनाएको छ । योसहित अहिलेसम्म १६६ स्थानको नामावली सार्वजनिक भइसकेको छ ।
कांग्रेसले भदौमा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । सोही योजनाअनुसार क्रियाशील सदस्यहरुको नामावली धमाधम इन्ट्री भइरहेको हो ।
शनिबार सार्वजनिक गरिएका र यस अघि सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा यस समितिको नाममा पार्टीको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले २०७८ आषाढ ६ गतेभित्र सप्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्ने पनि कांग्रेसले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।