डोटीमा केही खुकुलो पार्दै पाँचौँ पटक निषेधाज्ञा थपियो
प्रकाश बम,
प्रकाशित २०७८ जेठ ३१ सोमबार
636
Shares
डोटी । डोटीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या केही मात्रामा घटे सँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि केही खुकुलो पार्दै लम्ब्याएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा पाँचौँ पटक खुकुलो पार्दै निषेधाज्ञा थपिएको हो।
पछिल्ला दिनहरूमा जिल्लामा कोरोना भाइरस केही मात्रामा कमी देखिएको भएता पनि सङ्क्रमणको जोखिम कायम रहेकोले यसको सम्भावित सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कोभिड -१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश बनेको २०७८ को दफा ५ को उपदफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम जेष्ठ २२ गते देखि ३१ गतेसम्म चौथो पटक निषेधाज्ञा थपिएको हुँदा पुनः ज्येष्ठ ३१ गते राती १२ देखी असाढ १० राती १२ बजे सम्मका लागि पाँचौँ पटक केही खुकुलो पार्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भने, ‘पाँचौँ पटक गरिएको निषेधाज्ञामा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी बिहान ६ बजे देखी ११ बजेसम्म र बेलुका ४ बजे देखी ७ बजेसम्म पसलहरू खोल्न पाइने छन् । बैङ्क तथा वित्तीय संस्थाहरू बिहान १० बजे देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइने छ। उनले थपे , जिल्लामा निजी सवारी साधन चलाउन पाइने छ । होटेल, रेस्टुरेन्ट, चिया पसल र मदिरा पसलमा लगाइएको रोक भने कायमै रहेको छ।'
निषेधाज्ञाको पूर्ण पालना नगरे जिल्ला कोभिड -१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश बनेको २०७८ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खनालले हाम्रा कुरालाई जानकारी दिए ।
नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण फैलिए देखि जिल्लामा हालसम्म एक हजार तीन सय पचपन्न जनामा कोरोना पुष्टि भएको र अहिले एक सय ६२जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्भव बहादुर ठगुन्नाले जानकारी दिए। जिल्ला भित्र र बाहिर गरेर डोटीका १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।