डोटीमा पहिरोमा परी खड्कबहादुरको मृत्यु, दुई बालिका घाइते
प्रकाश बम,
प्रकाशित २०७८ असार २ बुधबार
514
Shares
तस्वीर–मृतक खड्कबहादुर बम ।
डोटी । डोटीमा लगातार परिरहेको अविरल बर्षाका कारण बुधबार पहिरोमा परी एक जनाको मृत्यु भएको छ। त्यस्तै दुई जना घाइते भएका छन् ।
जिल्लाको केआईसिंह गाउँपालिका ३ बासुदेवीको रौवा भन्ने ठाउँमा बिहान ७ बजेतिर खानेपानी बनाउन गएका बेला माथिबाट खसेको पहिरोमा परी गाउँपालिकाको देउकाँडाका ६५ वर्षीय खड्कबहादुर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ।
मृतक बमसँगै खानेपानी बनाउन गएका दुई बालिका घाइते भएका छन् । केआईसिंह गाउँपालिकाका कर्मचारी डम्बर भट्टका अनुसार घाइते हुनेहरुमा बासुदेवीको झिंगाबस्तीका १३ वर्षे पुनी कुँवर र १६ वर्षे पूजा कुँवर रहेका छन् ।
पुनीको हात भाँचिएको छ भने पूजाको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ । उनीहरुको उपचारका लागि पहल भइरहेको केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए ।