मनसुनको शुरुमै जोखिमः विपदबाट यस वर्ष १८ लाख मानिस प्रभावित हुने
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
372
Shares
काठमाडौं । मनसुन शुरु भएसँगै जनधनको क्षति हुने क्रम शुरु भएको छ । यस वर्षको मनसुन २८ असारबाट शुरु भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनजन्य विपद्बाट १८ लाख मानिस प्रभावित हुन सक्ने अनुमान गरेको छ ।
विगतका वर्षहरुमा भन्दा यस वर्ष मनसुनको शुरुबाट नै सरदरमा गत वर्ष भन्दा धेरै वर्षा भएको र वर्षा अझै बढ्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष मनसुनजन्य विपद्बाट मात्रै देशभर चार सय बढीको ज्यान गएको थियो ।
यस वर्ष मनसुन अवधिमा गत वर्ष भन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गतवर्ष भन्दा बढी पानी पर्ने सम्भावना छ ।
यस वर्ष भने बाढी तथा पहिरो दुबैको पूर्वानुमान गर्न सकिने गरी प्रणालीको विकास गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिए ।
उनले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका एक लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको जानकारी दिएका हुन् ।
दार्चुला, बैतडी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, सिन्धुपाल्चोक, खोटाङ, लमजुङ लगायतका जिल्लामा पहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
यस्तै कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवन लगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ ।
प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले यस वर्ष पहिरोको पूर्वानुमान ‘प्रभावमा आधारित पूर्वसूचना प्रणाली’ सुरु गरिएको जानकारी दिए । यो प्रणालीबाट पहिरोबाट हुने मानवीय क्षती कम गर्न सकिने पोखरेलले बताए ।
‘विगतमा बाढीको मात्र पूर्वानुमान हुन्थ्यो, यसै वर्षदेखि हामी पहिरोको पनि पूर्वानुमान गर्न सकिने सुचना प्रणालीमा हामी छौं, यसले मानवीय क्षती कम गर्न सक्ने अपेक्षा छ, यो प्रणाली पहिरोको अति जोखिम रहेका ९ जिल्लामा प्रयोग गरिनेछ,’ प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।
यो प्रणालीबाट जोखिममा रहेका जिल्लाहरूमध्ये कुन कुन ठाउँमा पहिरोको जोखिम बढी छ र त्यहाँ कति पानी पर्दा पहिरो जान सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
प्राधिकरणले देशभरका सूचना एकीकृत गरी राष्ट्रिय आपतकालीन संचालन केन्द्र हुँदै जिल्ला र स्थानीय तहसम्म घटनाको सम्भावनाबारे जानकारी दिने गर्छ । र यसरी गरिएका पूर्वानुमानबाट जोखिम क्षेत्रमा रहेका व्यक्तिहरुलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्ने गरी तयारी गरिएको छ ।