तत्काल मनसुन कमजोर हुने अवस्था छैन, केही स्थानमा भारी वर्षा
रासस,
प्रकाशित २०७८ असार ५ शनिबार
461
Shares
फाइल तस्बिर
काठमाडौँ। केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन्। यस वर्ष सुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
“यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, मौसमविद् कँडेलले भनिन्, “त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ।” केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ।
मनसुन सुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ। विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ।
आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ। प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघ गर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ। त्यसैले महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन भनेको छ। महाशाखाका अनुसार वर्षाको यो सिलसिला आगामी आइतबार र सोमबार पनि जारी रहनेछ।