जापान । जापानका पूर्व न्यायमन्त्री कात्सुयुकी कवाई चुनावमा भोट खरिद गरेको घटनामा दोषी ठहर भएसँगै उनलाई अदालतले शुक्रवार तीन वर्षका लागि जेल सजाय सुनाएको छ । अदालतले कवाईलाई तीन वर्ष जेल सजाय सहित १३ लाख जापानी येन जरिवाना समेत तोकेको छ ।
५८ वर्षीय कवाईले सन् २०१९ मा भएको संसद्को माथिल्लो सभाको निर्वाचनमा १०० जना स्थानीयलाई २ करोड ९० लाख जापानी येन दिएको आरोप छ । कवाईले उक्त रकम आफ्नी श्रीमती अन्रि कवाईलाई जिताउनको लागि दिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
अभियोजन पक्षले टोकियो जिल्ला अदालतमा सन् २०१९ मा भएको प्रतिनिधि सभा सांसद निर्वाचनमा भएको भोट खरिदमा मुद्दा चलाएर चार वर्ष जेल र १५ लाख जापानी येन जरिवाना माग गरेको थियो ।
उक्त अभियोग अनुसार कावाईले सन् २०१९ जुलाईमा हाउस अफ काउन्सिलर्सको चुनावमा आफ्नी श्रीमतीलाई भोट हाल्ने अधिकारका लागि कम्तीमा २ करोड ९० लाख येन मतदातालाई दिएका थिए ।