उपत्यकामा निषेधाज्ञा खुकुलो : निजी सवारीलाई जोर बिजोर, पसल खोल्न बार तोकियो
केके खुल्छन् ?
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
434
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई १४ असारसम्म थप गर्ने निर्णय गरेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा १४ असारसम्म थप गरिएको जानकारी दिए । उनका अनुसार अब उपत्यकामा बार अनुसार पसल खोल्न पाइने छ भने निजी सवारी सञ्चालनका लागि जोर बिजोर प्रणाली कायम गरिने निर्णय भएको छ ।
बैठकले ट्याक्सीलाई पनि जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । अन्य सार्वजनिक सवारी साधन भने खुला गरिएको छैन । खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
कुन बार के पसल खुल्छन् ?
आइतबार, मङ्गलवार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटो मोबाइल र त्यसका पार्टपुर्जा पाइने पसल खुल्नेछ । सोमबार, बुधवार र शुक्रवार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने छ ।
यसरी खुल्ने पसलहरू बिहान ११ देखि दिउसो ४ बजेसम्म मात्र खोल्न पाइने छ । उपत्यकाका तीन जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।