काठमाडौं । काठमाडौं उपत्यकामा भोलि(मंगलबार)बाट ट्याक्सी संचालन हुने भएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ बैशाखबाट जारी गरिएको निषेधाज्ञा पुनः एक साता थप गर्दै निजी सवारी साधन तथा ट्याक्सीलाई संचालन खुला गरिएको हो । यसरी संचालन गरिने यी सवारी साधनहरु जोरविजोर प्रणालीमा चल्न पाउने छन् ।
काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै १४ असारसम्म थप गर्ने निर्णय गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आर्थिक गतिविधि सुचारु गर्ने गरी निषेधाज्ञाको मोडालीटीमा केही फेरबदल गरी १४ असारसम्म थप गरिएको बताएका थिए ।
उनका अनुसार भोलीबाट उपत्यकामा बार अनुसार पसल खोल्न पाइने छ भने नीजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने छ ।
बैठकले ट्याक्सीलाई पनि जोरविजोर प्रणालीमा चल्न दिने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । अन्य सार्वजनिक सवारी साधन भने हाललाई खुला गरिएको छैन ।
निर्णय अनुसार खाद्यान्न, फलफूल र तरकारी पसल विहान ११ बजेसम्म मात्र संचालन गर्न पाइने छ । यस्तै अन्य व्यापार व्यवसायका लागि बार र समय तोकिएको छ ।
कुन बार के पसल खोल्न पाइन्छ ?
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल खोल्न पाइने छ ।
यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने छ । यसरी खुल्ने पसलहरु बिहान ११ देखि दिउसो ४ बजेसम्म मात्र खोल्न पाइने छ ।
यसैगरी निर्माण सामग्रीका पसल विहान ११ बजेबाट साँझ ६ बजेसम्म दैनिक खोल्न पाइने छ । यस्ता सामग्रीहरुको ठूला सवारीमार्फत गरिने ढुवानी रामती मात्र गर्न पाइने छ ।
पसल व्यवसाय संचालन गर्दा कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्ने तथा अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने छ ।
यसैगरी विकास निर्माण र सार्वजनिक सेवा प्रवाह सम्वन्धि सरकारी कार्यालयहरु आलोपालो प्रणालीमा न्यूनतम जनशक्ति परिचालन गर्ने गरेर स्वास्थ्य मापदण्डाको पालना गर्ने गरी खुला गरिएको छ ।
के-के गर्न पाइदैन ?
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङपुल, सैलुन, व्युटीपानर्लर, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशाला र मानिसका भिडभाड हुने सबै प्रकारका कार्यक्रममा भने रोक लगाइने पहिलेको निणर्य कायम गरिएको छ ।
खुला स्थानमा मानिसहरु भेला हुन, सभा, जुलुस, जात्रा, महोत्सवमा लगाइएको निषेध कायम गरिएको छ । फुटपाथमा हुने व्यवसाय पनि संचालन गर्न पाइने छैन । पुजारीबाट मठमन्दीरमा हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरुमाथिको रोक कायम राखिएको छ । विवाह व्रतवन्ध घरबाट मात्रै गर्न पाइने छ । यसरी घरबाट हुने विवाह व्रतवन्धमा पनि १० जना भन्दा जम्मा हुन पाइने छैन ।