काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा गएका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान भर्चुअल माध्यमबाट आकस्मिक रुपमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले स्थानीय तह र केन्द्रीय कमिटीका नेताहरुलाई कारवाही स्वरुप पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।
बैठकपछि संचारकर्मीहरुलाई निर्णय सुनाउँदै श्रेष्ठले पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र माओवादीले निर्वाचन आयोगमा यसअघि नै पठाएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय गर्न नसकेको बताए ।
बैठकले स्थानीय तहका साथै पार्टी छोडेका केन्द्रीय तहका नेताहरुलाई गरेको कारवाहीको प्रस्तावलाई अनुमोदन गरेको पनि श्रेष्ठले बताए । विज्ञप्तिमार्फत उनीहरुको नाम सार्वजनिक गर्ने उनले बताए ।
यसअघि नै कारबाहीको निर्णय भएपनि निर्वाचन आयोगको सहजताका लागि सोमबार फेरि निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन् । सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि ब्रिफिङ गरेका थिए ।
पार्टीको यसअघि बसेको बैठकले पार्टी छोडेकालाई कारबाही गर्ने निर्णयको अधिकार प्रचण्डलाई दिएको थियो । सोही अनुसार माओवादीले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो ।
माओवादी केन्द्र छाडेका सांसद्लाई गरिएको कारबाहीको विवरण बुझाए पनि आयोगले दल त्यागसम्बन्धी सूचना जारी नगरेपछि माओवादी नेताहरु आयोगमै पुगेर ध्यानाकर्षण गराएका थिए ।