युरो फुटबल: समूह 'डी'बाट ईङल्याण्ड र क्रोएसिया दोस्रो चरणमा
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
304
Shares
काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'डी'बाट ईङल्याण्ड र क्रोएसिया दोस्रो चरण (राउण्ड अफ सिक्सटिन) प्रवेश गरेका छन्।आ-आफ्ना खेलहरू जित्दै यी दुई टोली दोस्रो चरण प्रवेश गरेका हुन्।
चेक गणतन्त्र तेस्रो स्थानमा रहेर अरू समूहका तेस्रो स्थानको नतिजा कुरेर बसेको छ। सबै समूहबाट तेस्रो भएका टोलीहरू मध्य पहिलो चार टोली दोस्रो चरण प्रवेश पाउने छन्। ईङल्याण्डले चेकलाई १-० गोलले पराजित गरेको थियो भने क्रोएसियाले स्कटल्याण्डलाई ३-१ गोलले स्तब्ध पारेको थियो।
ईङल्याण्डका लागि खेलको १२औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उनलाई ज्याक ग्रिलिशले असिस्ट गरेका थिए। दुवै टोलीलाई दोस्रो चरण पुग्नका लागि अङ्कको आवश्यकता रहेकोमा दुवै टोली संयमित भएर खेलेका थिए। उक्त संयमताले चेकलाई अन्तत फाइदा गरेन । स्टर्लिङको त्यही एक गोल अन्तमा निर्णायक रहन पुग्यो।
क्रोएसियाले स्कटल्याण्डलाई पराजित गर्ने क्रममा कप्तान लुका मोड्रिचले निर्णायक भूमिका खेलेका थिए। उनले एक गोल र एक असिस्ट गर्दै आफ्नो टोलीलाई दोस्रो चरण पुर्याएका हुन्। १-१को बराबरीको स्थितीमा उनले थप गोल गर्दै र अर्को गोल गर्न सहयोग गर्दै जित सुनिश्चित पारेका थिए।
खेलको १७औं मिनेटमा क्रोएसियाका निकोला भ्लासिचले गोल गर्दै अग्रता दिलाएका थिए। क्रोएसियाको अग्रतालाई बराबरी गर्न खेलको ४२औं मिनेटमा स्कटल्याण्डका क्यालम मेकग्रेगरले गोल गरेका थिए।
त्यसैगरि खेलको ६२औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै २-१को अग्रता बनाएका थिए भने ईभान पेरिसिचले ७७औं मिनेटमा गोल गर्दै खेलमा ३-१को अग्रता बनाएका थिए। दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल क्रोएसियाले ३-१ले जितेको थियो। यो जित पछि चेकसँग अङ्क बराबरी गरेको क्रोएसियाले गोल अन्तरका आधारमा समूहमा दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको छ।