काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणामप्रति जनता समाजवादी पार्टी जसपा असन्तुष्ट भएको छ । विराटनगर महानगरपालिकाको उपमेयरमा जसपाका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दिएकामा उनी विजयी हुने अवस्थामा छैनन् ।
जनकपुरको मेयरमा जसपाका उम्मेदवार लालकिशोर साह धेरै पछाडि छन् । त्यहाँ नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह निकै अगाडि छन् । जनकपुरमा लालकिशोरले ल्याएको भोट धेरै नै कम छ । त्यसो त लालकिशोर जनकपुर उपमहानगरको निवर्तमान मेयर पनि हुन । उनले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट मेयरमा चुनाव जितेका थिए । यसपटक उनले पार्टी फेरेका छन् । विराटनगरमा झैं जनकपुरमा पनि जसपाले चुनाव जित्नेमा पार्टीका नेताहरु ढुक्क थिए । त्यहाँ पनि जसपाको चाहनामा ढुंगा लाग्ने अवस्था छ ।
अहिलेसम्म जसपाले देशभर १५ सिटमा विजयी भएको छ । १९ पालिका प्रमुखमा जसपाका उम्मेदवार अगाडि छन् । यसबाट जसपा ३४–३५ सिटमा विजयी हुने लगभग पक्का भएको छ । जसपाको अनुमान भने कम्तीमा ४५ सिट जित्ने थियो ।
२०७४ सालको चुनावमा भाग लिएको राजपाका केही वरिष्ठ नेता अहिले जसपातिर छन् । महेन्द्र यादव, राजकिशोर यादव, मृगेन्द्रसिंह यादव, मनिष सुमन, रमेश यादव लगायतका नेताहरु कित्ता परिवर्तन गरी जसपातिर गएका छन् ।
यसबाट जसपालाई फाइदा पुग्ने विश्लेषण जसपाका नेताहरुले गरेका थिए । विश्लेषणअनुसार फाइदा नभएको जसपाका नेताहरुको बुझाइ छ । त्यसमा पनि गठबन्धनमा रहेका दलहरुले आफूलाई चरम धोका भएको जसपाका नेताहरु बताउँछन् ।