नागरिकता विधेयक खारेजीको माग गर्दै कांग्रेसद्वारा प्रदर्शन
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार १५ सोमबार
155
Shares
धनुषा। कम्युनिष्ट नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली कांग्रेस धनुषाले सोमबार जनकपुरमा विरोध प्रदर्शन गरेको छ। सोमबार नेपाली कांग्रेस धनुषाका सभापति महेश शंकर गिरीको नेतृत्वमा पार्टी कार्यालयबाट निकालिएको विरोध र्याली क्याम्पसचोक, मुरलीचोक, रामचोक, जनकचोक हुँदै भानुचोकमा गई कोणसभामा परिणत भएको थियो।
नेकपा नेतृत्वको सरकारले महिला विरोधी विभेदपूर्ण विधेयक विरुद्ध नारावाजी गरेको हो। बिरोध सभामा बोल्दै पार्टी सभापति गिरीले नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको र राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछिमात्र नागरिकता दिने निर्णय भएकोप्रति बिरोध गरे।
सभापति गिरीले राज्य व्यवस्था समितिको यो निर्णयमा नेकपाका सांसदहरुको समेत संविधान विपरित गतिविधि गरेको दावी गरे। विधेयक खारेज नगरिए आधितुफान ल्याउने सभापति गिरीले चेतावनी समेत दिएका हुन् ।
प्रदर्शनको क्रममा र्यालीमा सहभागीहरुले बैबाहिक अंगिृकत नागरिकताको ७ वर्षे प्रावधान खारेज गर, महिलामाथिको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथीको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए। विरोध र्यालीमा करिव दुई सयको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।