कांग्रेस महाधिवेशनः छोडिदेउ अब दाईको गुट, नयाँ पुस्ताका बन एकजुट
रमेश बस्ताकोटी,
प्रकाशित २०७७ साउन १४ बुधबार
101
Shares
नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही सालको फागुनमा गर्ने गरि कार्यतालिका सार्वजनिक भएको छ । महाधिवेशनका लागि क्रियाशिल सदस्यता वितरण लगायतका कार्यक्रम सुरु पनि भइसकेका छन् । यो सन्दर्भमा यती बेला फेरी एकपटक सबैको ध्यान नेपाली कांग्रेसको महाधिवेशनतिर तानिन सुरु भइसकेको छ । नेपाली कांग्रेस मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । कांग्रेसले महाधिवेशन मार्फत् लिने नीति तथा कार्यक्रमले समग्र नेपाली जनता र मुलुकको भविष्य निर्धारण गर्दछ । त्यसकारण पनि कांग्रेसको महाधिवेशनप्रति आम चासो हुनु स्वभाविक हो । कांग्रेसको १४ औं महाधिवेशन नीति तथा कार्यक्रमका हिसावले त महत्वपुर्ण छदैछ, त्यतिकै महत्वपुर्ण अर्को पक्ष भनेको नेतृत्वको हो ।
बीपी कोइरालाले युवा अबस्थामानै नेपाली कांग्रेस पार्टीको स्थापना गरेका थिए । बीपी कोइराला ३५ वर्षको उमेरमा पार्टी सभापति बनेका थिए र ४३ वर्षको उमेरमा देशको प्रधानमन्त्री बनेका थिए । मदन भण्डारी ४१ बर्षको उमेरमा नेकपा एमालेको महासचिब बनेका थिए । बेलायतका प्रधानमन्त्री डेबिड क्यामरुन ४१ बर्षको उमेरमा प्रधानमन्त्री बने । बाराक ओबामा अमेरिकाको सबैभन्दा कान्छो उमेरमा राष्ट्रपति बने । यसको मतलव नेपाली कांग्रेस पार्टीलाई अहिलेसम्म युवाहरुले नेतृत्वनै गरेनन् भन्ने होईन । नेपाली कांग्रेस पार्टी स्थापना हुँदा यसका संस्थापकहरु सबै जुझारु युवा थिए । नेपाली जनताको स्वतन्त्रताका लागि युवा अबस्थामा नै यसका संस्थापकहरुले कांग्रेस पार्टीको स्थापना गरेका थिए ।
चौधौं महाधिवेशनको रौनक सुरु भएसंगै कांग्रेस भित्र फेरी एकपटक युवा नेतृत्वको बिषयले प्रवेश पाएको छ । अहिलेका नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा ७४ बर्षका भए । वरिष्ठ नेता रामचन्द्र पौडेल ७५ बर्षका भए । महामन्त्री डा. शशांक कोइराला ६१ बर्षका भए भने नेता कृष्णप्रसाद सिटौला ७१ बर्षका भए । यसको मतलब कांग्रेसको नेतृत्व तहमा रहेका सबै नेताहरु ६० कटिसकेका छन् । यो भन्नुको अर्थ नेपाली काँग्रेस पार्टीलाई विगत लामो समयदेखि ६० कटेको पुस्ताले नेतृत्व गरिरहेको छ । यसो भन्दै गर्दा उहाहरुको योगदानलाई नजरअन्दाज गर्न खोजिएको हैन । नेपाली कांग्रेस निर्माणमा उहाँहरुको अतुलनीय भुमिका छ । पटक पटक जेल नेल भोगेका नेताहरु हुनुहुन्छ । प्रजातन्त्रका लागि लामो समय लडेका अत्यन्तै आदरणीय नेताहरु हुनुहुन्छ । तर यसको मतलब यो पनि होईनकी आराम गरेर एउटा अभिभावकको भुमिकामा बस्ने बेलामा नेतृत्व छाड्दै नछाडी बस्नुपर्छ भन्ने ।
यसो भनिरहँदा कतिपयले भन्लान् युवा उमेरले हुने कुरा होइन बिचारले हुने तर्क पनि भन्लान । यो पंक्तिकार पनि त्यो कुरासंग असहमत राख्दैन । अर्थात् युवा जोश र जाँगरले भरिपुर्ण बिचार ६० कटेका नेताले राख्न सक्दैनन् भन्ने होइन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदाहरण हेरौं, उनि आफु भन्दा कयौं सिनियर नेताहरुलाई पछाडी छाडेर आज यो स्थानमा आईपुगेका हुन् । उनकै बिचारका कारण उनकै नीतिका कारण अहिले दोस्रो कार्यकाल पनि भाजपाले एकछत्र शासन चलाईरहेको छ । यसको मतलब मान्छे बुढो हुँदैमा बिचार र नीति पनि पुराना हुन्छन् भन्ने होईन । तर के हाम्रो देशको हकमा अझै नेपाली कांग्रेस पार्टी भित्र त्यो अबस्था छ त ? सबैले एकपटक गम्भिर भएर सोचौं ।
नेपाली कांग्रेसको बर्तमान नेतृत्वले स्पष्ट रुपमा न कुनै कार्यक्रम दिन सकेको छ, न त कुनै कार्यदिशानै छ । कम्युनिष्टहरुको लहलहैमा लागेर यही नेतृत्वले पार्टीको आकार कहाँ पुर्यायो यहाँ भनिरहनु नपर्ला, त्यसकारण अब शेरबहादुर, रामचन्द्र, सिटौला लगायतको पुस्ताले बिश्राम गर्नुपर्छ । पार्टीमा अब युवा नेतृत्व स्थापित हुन आबश्यक छ ।
कांग्रेस भित्र कयौं सक्षम र आशा लाग्दा युवाहरु नेतृत्वमा आउन सक्ने ल्याकत राख्ने खालका छन् । के सबै उनिहरुलाई ६० कटेको पुस्ताको पछि लगाएर उनिहरुको सिर्जनशिलता लाइ मारिरहने हो ? अब प्रश्न यहाँनेर गम्भिर रुपले उठेको छ । अहिले पनी नेपाली काँग्रेसमा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, बिश्वप्रकाश शर्मा, बालकृष्ण खाँड, धनराज गुरुङ्ग, गगन थापा, गुरु घिमिरे, जीवन परियार, बद्री पाण्डे, प्रदिप पौडेल, महेन्द्र शर्मा जस्ता अत्यन्तै आशा लाग्दा नेताहरु छन् । जसले यो पार्टी र देशका लागि आफ्ना बैचारिक नेतृत्व गर्न सक्छन् भन्ने कुरा कम्युनिष्टहरु पनि स्विकार गर्छन् । माथी नाम उल्लेख गरिएका भन्दा पनि धेरै आशा लाग्दा युवा नेताहरु कांग्रेसमा छन् । यसको मतलव के हो भने कांग्रेसलाई नेतृत्व गर्नका लागि युवाहरुको एउटा अत्यन्तै क्षमतावान समुह तयार भइसकेको छ । त्यसकारण अब युवालाई नेतृत्व हस्तान्तरण गर्न ढिला गर्नु हुँदैन । कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले अब यो बिषयमा सोच्न आबश्यक छ । सधै शेरबहादुर दाई, रामचन्द्र दाई, सिटौला दाई, शशांक दाई फलानो दाई र डिस्कानो दिदी भनेर पछि लाग्नुको साटो अब सोच बिचार गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आबश्यक छ । यसका लागि कांग्रेसको १४औं महाधिवेशनमा तत्लो तहबाटनै व्यापक मात्रमा युवाहरु निर्वाचित भएर आउन जरुरी छ । देशभरि युवाको पक्षमा महोल बनाउन सकियो भने त्यो असंभव पनि छैन ।
तर आश गरिएका पछिल्ला पुस्ताका नेताहरुनै तिनै दाईहरुको चाकडी गर्छन् र पिछलग्गु छन् । अनि युवा नेतृत्वको बहस गर्नुको के अर्थ ? पछिल्ला पुस्ताका नेताहरुनै केन्द्रीय सदस्य जित्नका लागि दाइहरुकै आर्शिवाद नपाइ संभव छैन भने दोस्रो वा तेस्रो पुस्ताको नेतृत्वको बहसको के अर्थ ? हो, अहिले पछिल्ला पुस्ताका नेताहरु कुनै न कुनै दाईको गुटमा सामेल छन् । उनिहरु ति गुटबाट बाहिर निस्केर समग्र युवाको हितमा बोल्ने आँट गर्लान् ? नेतृत्वमा हस्तक्षेप गर्ने आँट गर्लान् ? भन्ने कुरा शंकाकै घेरा भित्र छ । तथापि हामीले कांग्रेस भित्र युवा नेतृत्वको बहस चलाउँदै गर्दा समग्र पार्टीको परिवेशलाई नबुझी चलाएका हैनौं । घेराबाट निस्केर आउन गाह्रो अबश्य होला तर ईच्छाशक्ती भयो भने असंभव पनि छैन ।
त्यसकारण कांग्रेसका पछिल्ला पुस्ताका नेताहरु अब एक ठाउँमा उभिन आबश्यक छ । नेतृत्वमा जर्वजस्त हस्तक्षेप गर्ने हो भने एक ठाउँमा उभिनुको विकल्प छैन । यदी एक ठाउँमा उभिएर देशभरि नयाँ नेतृत्वको पक्षमा माहोल नबनाउने होर फेरी पनि दाइहरुकै जीहजुरी गर्ने हो अनि नेतृत्वमा पुग्नका लागि ७० बर्ष पुग्ने दिन कुरेर मात्र बसे हुन्छ । त्यसकारण १४औं महाधिवेशन नयाँ पुस्ताका नेताहरुको लागि परिक्षाको घडी पनि हो । यो परिक्षामा खरो उत्रिएर एक पटक १४औं महाधिवेशन मार्फत् युवा नेतृत्व स्थापनामा जोड दिऔं । नेतृत्वमा को पुग्ला त्यसलाई महत्वपुर्ण बिषय नठानौ मुल कुरा नयाँ पुस्ता नेतृत्वमा पुग्नु हो । आज नयाँ पुस्ता पुग्यो भने भोलि अर्को नयाँ अबश्य पुग्छ । त्यसले गर्दा पार्टी चलायमान हुन्छ । बिपक्षीसंग लड्न सजिलो हुन्छ । त्यसकारण सबै नयाँ पुस्ताका नेताहरुले यो पटक यो या त्यो नभनि युवा नेतृत्व स्थापना अभियानमा सघाउन जरुरी छ ।
यसमा अहिलेको कांग्रेस नेतृत्वले पनि सघाएर युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न सके झनै सुनमा सुगन्ध हुने थियो । अब ६५-७० कटेका नेताहरु अभिभावकीय भुमिकामानै बस्दा उत्तम हुन्छ । यो लेख लेख्दै गर्दा पंक्तिकारको न कुनै नेतासंग आग्रह छ, न त कुनै पुर्वाग्रह । मात्र कांग्रेसभित्र चलायमान युवा पुस्ता आउनु पर्छ भन्ने अभियान स्वरुप यो प्रसंग उसठाइएको हो । त्यसकारण देशभरका नयाँ पुस्ताका साथीहरुले अब कांग्रेस भित्र नयाँ नेतृत्वको अभियानलाइ व्यापक बनाउन आबश्यक छ । समय अब आएको छ, यो पटक महाधिवेशन मार्फत् नयाँ पुस्ताको नेतृत्व स्थापित भयो भने मात्र सहि अर्थमा कांग्रेसले देशको नेतृत्व गर्न सक्छ अर्थात् कांग्रेस फेरी एक पटक मुलुकको ठूलो पार्टी बनेर मुलुकको नेतृत्व गर्न सक्छ । यसका लागि यो पटक कांग्रेसको मुल नेतृत्व तहमा युवाहरुलाई पुर्याउनै पर्दछ । कांग्रेसका नयाँ पुस्ताका नेताहरुले हिम्मत गरेर दाइको गुट छाडेर एकजुट हुन आबश्यक छ । दाईको गुटमा बसिरहने हो भने पालो आउँदैन, भाईहरुको गुट बनाएर एकजुट हुने हो भने यो पटक नभएपनि फेरी अर्को पटक पालो अबश्य आउँछ ।