काठमाडौं । चाणक्य नीतिमा कयौ ज्ञानको बारेमा बर्णन गरिएको छ । चाणक्यको नीतिलाई बुझे हरेक मानिसले आफ्नो जीवन सफल बनाउन सक्छ । यी नीतिहरुमा धर्म र ज्ञानको सहि प्रयोग कसरी गर्ने बताइएको छ । आचार्य चाणक्यले आफ्नो नीति ग्रन्थको तेस्रो अध्यायमा पुत्रको बिषयमा बर्णन गरेका छन् ।
एकेनापि सुवृक्षेण पुष्पितेन सुगन्धिना ।
वासितं तद्वनं सर्वं सुपुत्रेण कुलं यथा ।।१४।।
चाणक्य नीतिको यस श्लोकमा भनिएको छ- जसरी सुपुत्रले (पुण्यकर्महरुद्वारा) आफ्नो कुललाई सुवासित तुल्याउँदछ । त्यसैगरी सुगन्धित पुष्पहरुले शोभायमान एउटै मात्र वृक्षले पनि सम्पूर्ण वनलाई नै सुवासित तुल्याउँदछ ।
अर्थात चन्दनको रुख भएको जंगल त्यसको प्रभावले गर्दा सुशोभित भएजस्तै कुलमा कोही संस्कारी व्यक्ति जन्मियो भने उसका शुभकर्महरुले गर्दा कुल नै राम्रो कहलिन्छ ।
श्लोकका अनुसार- एउटा सुकेको वृक्षमा यदि आगो लाग्यो भने त्यसले जसरी पूरै जंगललाई नै सखाप पार्दछ । त्यसैगरी कुलमा कोही कुपुत्र जन्मियो भने त्यसले कुललाई नै समाप्त पार्दछ ।
श्लोकमा चाणक्य भन्छन्, यदि कुनै कुलमा विद्याले युक्त एउटै मात्र सज्जन सुपुत्र छ भने त्यसले आफ्नो सम्पूर्ण कुललाई नै समुज्वल बनाउँदछ । जसरी चन्द्रमाको प्रभावले रात्रि उज्वल हुन्छ ।
साथै अर्को श्लोकमा भनिएको छ- शोक र सन्ताप दिने खालका धेरै सन्तान हुनुभन्दा त्यस्तो एउटा मात्रै पुत्र भए पनि श्रेष्ठ हुन्छ । जसले आफ्नो कुललाई सहारा दिन्छ, मर्यादित तुल्याउँदछ र जो कुलको आधार छ ।
चाणक्यले यो श्लोकमा पिताले पुत्रलाई कस्तो व्यवहार गर्ने त्यसमाथि उल्लेख गरेका छन् । श्लोकमा भनिएको छ - ५ वर्षको उमेरसम्म पिताले आफ्नो पुत्रलाई एकदम माया गरेर पालोस् । त्यसपछि १० वर्षको उमेरसम्म (भन्दा नमानेको अवस्थामा) पिटेरै भए पनि ज्ञानी बनाओस् । जब १६ वर्ष पुग्दछ त्यसपछि मित्रसमान आचरण गरोस् । (स्रोत: आत्मपथ)