उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प पार्न गगनको सुझाव
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १ बुधबार
109
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले केपी शर्मा ओलीलाई संसद बैठक बोलाउन बाध्य पार्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकको पूर्वसन्ध्यामा बुधबार सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले लेखेका छन्, ‘पार्टी सभापति तथा शीर्ष नेताज्यूहरू, पार्टी बैठकमा हामीले भनेका थियौं बरालिएका केपी शर्मा ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं। उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔं। संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौं।’
उनले अगाडि लेखेका छन्, ‘आज बैठक बस्दै हुनुहुन्छ। पार्टी सभापतिलाई फेरी विनम्र अनुरोध। संविधानको धारा ९३ (३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔं ।’
उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प पार्ने रणनीति लिन, उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गर्नुपर्ने र संसद तथा सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पार्नुपर्ने थापाको धारणा छ।