काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको एक निर्णयका बिरुद्ध कांग्रेसका ३१ वटा भातृ र शुभेच्छुक संस्था उभिएका छन्। महाधिवेशन नभएका भातृ र शुभेच्छुक संस्थालाई कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन नदिने कार्यसमितिको निर्णय बिरुद्ध ३१ भातृ र शुभेच्छुक संस्था एक ठाउँमा उभिएका हुन्। भातृ र शुभेच्छुक संस्थाको महाधिवशेन गराउने भन्दा अल्मल्याउनेतर्फ लागेको पार्टीले मातहतका तथा शुभेच्छकु संस्थाहरुलाई रोक्ने कार्य तर्कसंगत नभएको भन्दै उनीहरुले पार्टीको निर्णयको औपचारीक रुपमै बिरोध जनाउँदै पार्टी नेतृत्वलाई औपचारीक रुपमा बिरोध पत्र बुझाएका छन्।
भातृ संस्थाको तर्फबाट महिला संघकी अध्यक्ष उमा रेग्मी र शुभेच्छुक संस्थाको तर्फबाट नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले अभियानको नेतृत्व गर्दै भातृ र शुभेच्छुक संस्थाको पार्टी कार्यालयमै भेला समेत आयोजना गरेका थिए । सोहि भेलाबाटै ४ बुँदे ज्ञापन पत्र समेत तयार गरि पार्टी सभापति शेर बहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति विमलेन्द्र निधीलाई बुझाउने तयारी गरिएको थियो। सो ज्ञापनपत्रमा भातृ र शुभेच्छुक संस्थाका ३१ जना अध्यक्षले हस्ताक्षर गरेका थिए । सोहि हस्ताक्षर भएको ज्ञापनपत्र शनिवार सभापति शेर बहादुर देउवालाई बुझाइएको छ ।
आफै समयमै महाधिवेशन गर्न नसकेको कांग्रेसले भातृ र शुभेच्छुक संस्थालाई महाधिवेशन गर्न नसकेको आरोप लगाउनु तर्कसंगत नभएको ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्रमा भातृ र शुभेच्छुक संस्थाको महाधिवेशन गर्ने गराउने निर्देशन र जिम्मेवारी पार्टीको भएको स्मरण गराउँदै दोष दिएर पार्टी उम्कन नसक्ने स्मरण गराइएको छ । ३१ संस्थाले पार्टीको चौधौं महाधिवेशनमा भाग लिन रोक्ने कुरा सच्याउन माग गरेको छ । त्यसैगरि प्रत्येक भातृ र शुभेच्छुक संस्थालाई एक निर्वाचन क्षेत्र बराबरको महाधिवेशन प्रतिनिधीको व्यवस्था गर्न माग गरिएको छ। मतदानको अधिकार मात्रको नभइ पूर्ण अधिकारसहितको महाधिवेशन प्रतिनिधी बनाउन उनीहरुले माग गरेका छन्। महिला संघकी अध्यक्ष उमा रेग्मीले गाई दिनु खुट्टा भाँचेर भने झै भातृ र शुभेच्छुक संस्थालाई केबल मत मात्र दिने महाधिवशेन प्रतिनिधीको अधिकार बढाउनु पर्ने बताइन्। त्यसैगरि भातृ र शुभेच्छुक संस्थाहरुको आरक्षण पार्टीमा गर्न समेत माग गरिएको छ।
सभापतिलाई ज्ञापनपत्र बुझाएपछि अन्य नेताहरुलाई पनि ज्ञापन पत्र बुझाउने शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले जानकारी दिएका छन्।