संसद विघटन विरुद्ध इलाममा प्रदर्शन, नेम्बाङ र खनालले जनतालाई धोका दिएको आरोप
प्रकाशित २०७७ पुष १३ सोमबार
111
Shares
इलाम । संसद विघटनविरुद्ध नेपाली कांग्रेस इलामले बृहत प्रदर्शन गरेको छ ।
इलाम क्षेत्र नम्बर १ को फिक्कल र क्षेत्र नम्बर २ को मंगलबारेमा हजारौंको संख्यामा आएको कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति चर्को नारा लगाए ।
नेकपाका तर्फबाट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी भएका पूर्व सभामुख तथा नेकपा नेता सुभाषचन्द्र नेम्बाङले गैरसंवैधानिक तवरले दिइरहेको अभिब्यक्तिप्रति विरोध जनाएका छन् ।
त्यस्तै क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्व प्रधानमन्त्री एवम नेकपाका पूर्वअध्यक्ष झलनाथ खनालले इलामे जनतालाई धोका दिएको भन्दै विरोध जनाए ।
मंगलबारेमा आयोजित बृहत जुलुशपछिको कोणसभामा नेताहरु पूर्व जिल्ला सभापति केशव थापा, महासमिति सदस्य भेषराज आचार्य, पूर्ण प्रसाद गौतम, बिष्णु दाहाल (लिम्बु) जिल्ला सचिव खगेन्द्र देवान, माङसेबुङ्ग गाँउपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो, नगेन्द्र कुमाल, होम दूलाल, महिला संघकी अध्यक्ष निर्मला संजेल, नुतनदेव दूलाललगायतका नेताले आफ्नो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुभाष नेम्बाङ प्रतिगामी बनेको र जनतालाई धोका दिएको बताए ।
कार्यक्रम क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति गोविन्द गिरिको अध्यक्षतामा भएको थियो । कार्यक्रम संचालन क्षेत्रिय सचिव वेद प्रसाद घिमिरेले गरेका थिए ।
साथै क्षेत्र नम्बर १ को फिक्कलमा आयोजित बृहत जुलुशपछिको कोणसभामा जिल्ला सभापति हिमालय कर्मचार्य, नेताहरु , डम्बर खड्का, क्षेत्रीय सभापति दुर्गा बराल, सूर्योदय नगरपालिकाका नगर सभापति मणी गुरुङलगायतले संसद विघटनको विरोध जनाए ।