रौतहटमा संसद विघटनको विरोधमा कांग्रेसको विशाल प्रदर्शन
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ पुष १३ सोमबार
88
Shares
चन्द्रपुर। केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा संसद विघटन गर्दै देशलाई अस्थिरता तर्फ लैजान खोजेको बिरुद्धमा नेपाली कांग्रेस रौतहटले जिल्ला भर प्रदर्शन गरेको छ । जिल्लाको ४ निर्वाचन क्षेत्रमा संसद विघटन असंवैधानिक तबरले गरिएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बिरोध गर्दै सोमबार जिल्लाभर प्रदर्शन गरिएको नेपाली कांग्रेस रौतहटले जनाएको छ ।
जिल्लाका बिभिन्न स्थानमा गरिएका प्रदर्शनमा हजारौं संख्यामा नेपाली कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुको उपस्थिती रहेको रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमलसिनाले जानकारी दिए ।
रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमालसिनाको नेतृत्वमा रौतहट क्षेत्र नम्बर ४ मा भएको बिशाल प्रदर्शनमा उनले ओलीले तानासाही प्रबृत्ति देखाएर देश डुबाउन खोजेको आरोप लगाए ।
राणा शासन र राजतन्त्र अन्त्य गर्ने नेपाली जनताले केपी ओलीको तानाशाह,भ्रम र झुटको खेती अन्त्य गरिदिने बताए । संविधानको बिरुद्धमा गएर सत्ता चलाउने स्वार्थमा संसद विघटन गर्दै सत्ताम कब्जा गर्न उद्धत रहेका ओलीको कदम र राष्ट्रपति बिद्यादेबी भण्डारीको ओलीप्रति देखिएको साथ र लगाब अलोकतान्त्रिक र संविधान बिरोधी कदम भएको बताए । तिमलसिनाले अब देश कांग्रेसले बाहेक अरुले बचाउन नसक्ने बताए । ओलीको हैकमबादी प्रबृत्ति नेपाली जनता र नेपाली कांग्रेसले नमान्ने धारणा राख्दै उनले काण्डै काण्डले भरिएको सराकारको नेतृत्व गरेका व्यक्तिले देश चलाउनै नसक्ने अवस्था आएपछि संसदै विघटन गरेर ३ करोड नेपालीमाथि अन्याय गरेको बताए । उनले संसद पुर्नस्थापना हुनुपर्नेमा जोड दिए ।
रौतहट क्षेत्र नम्बर ४ का प्रदेशसभा सदस्य धनलाल ठोकरले ३ करोड जनताले दिएको मतको बिरुद्धमा सरकार जानु दुर्भायपुर्ण रहेको बताए । प्रधानमन्त्रीको मानसिक सन्तुलन ठेगानमा ल्याउन नेपाली कांग्रेसले आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको उनले बताए । उनले प्रधानमन्त्री ओलीलाई बाँदरको संज्ञा दिँदै बाँदरले आफ्नो घर पनि नबनाउने र देश पनि नबनाउने बताए । देशभरका जनता र नेपाली कांग्रेससंग आस्था राख्ने नेपाली जनतालाई तानाशाही बाँरको बिरुद्ध एकढिक्का भई उभिन उनले आग्रह गरे ।
बिरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति तथा बृन्दावन नगरपालिकाका प्रमुख मेयर रामस्नेही यादबले सरकारले आफ्नो अधिनायकबादी चरित्र स्पष्ट पारेको बताए । खोक्रो राष्ट्रबादीको नाराले चुनाव जितेको नेकपाले आज देश र जनतालाई आफ्नो हैसियत सत्तालिप्सामा केन्द्रित रहेको देखाईसकेको बताए । उनले जबसम्म संविधानको रक्षा गर्ने र देशबासीको रक्षा गर्ने नेपाली कांग्रेस छ,तब सम्म नेपाली जनताले आत्तिनुपर्ने अवस्था नआउने बताए । उनले राणा,राजा र माओबादी युद्ध भोगेको देश र जनालाई फेरी केपी ओलीले गुलाम बनाउन नस्ने बताउँदै संसद सर्बोच्च न्यायालयबाट पुर्नस्थापना हुनेमा नेपाली कांग्रेस विश्वस्त रहेको बताए ।