मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा मोरङको ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सोमबार प्रदर्शन गरेको छ ।
यसअघि जिल्ला सदरमुकाममा आन्दोलन गरेको कांग्रेसले सोमबार प्रत्येक निर्वाचन क्षेत्रस्तरमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभामा कांग्रेस नेताहरुले असंवैधानिक तबरले संसद विघटन गर्दै ओलीले संघीयता समाप्त पार्न खोजेकाले सडकमा आउनुपरेको बताए । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको आलोचना गरे ।
मोरङको १ नम्बर क्षेत्रको लेटाङमा डिक बहादुर लिम्बू, २ नम्बर क्षेत्रको डाईनियामा डा मिनेन्द्र रिजाल, ३ नम्बर क्षेत्रको बेलबारीमा बसन्त भट्टराई, ४ नम्बर क्षेत्रको झोडाहाटमा महेश आचार्य, ५ नम्बर क्षेत्रको कर्सीया बजारमा अमृत अर्याल र ६ नम्बर क्षेत्रको बिराटनगरमा डा शेखर कोईरालाले सभालाई सम्बोधन गरेका थिए ।