काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिकालाई बुझाउन नसकिने लण्डनको अदालतले फैसला सुनाएको छ । असान्जका मानसिक स्वास्थ्यको चिन्ताका कारण अमेरिकालाई बुझाउन नसकिने फैसला अदालतले गरेको हो ।
४९ वर्षीय असान्जेलाई सन् २०१० र ११ मा हजारौं कागजातहरु सार्वजनीक गरेको आरोपमा वान्टेड सूचीमा राखिएको थियो ।अमेरिकी सेनाको डेटाबेस ह्याक गरेर त्यहाँ कयौं महत्वपूर्ण सूचनाहरु एवं इरान र अफगानिस्तान युद्धलगायतका कुराहरु विकिलिक्सबाट सार्वजनीक गरेको आरोप असान्जमाथि छ ।
अमेरिकाले असान्जलाई सजाँयका लागि माग गरेको थियो । तर, लण्डन अदालतले अहिले उनलाई अमेरिकालाई बुझाउन नसकिने फैसला सुनाएको हो । उनलाई अमेरिकामा कागजात सार्वजनीक गरेको मुद्दामा १ सय ७५ वर्षको जेल सजाय तोकिन सक्ने असान्जका वकिल बताउँछन् । तर अमेरिकी अधिकारीहरुले भने ४ देखि ५ वर्षको जेल सजाय तोकिन सक्ने बताउँदै आएका थिए ।
असान्जले अमेरिकी सेनाले सूचनाको दुरुपयोग गरेको बताएका छन् । सन् २०१२ देखि ७ वर्ष उनी लण्डनस्थित इक्वेडरको राजदुतावासमा शरण लिएर बसेका थिए । सन् २०१९ मा पक्राउ परेर ५० हप्ता जेल जीवन बिताएपछि उनी बेलमा छुटेका थिए ।