काठमाडौं। काठमाडौंको एक गार्मेन्टमा काम गर्ने भारतीय नागरिकले अर्का भारतीय नागरिकको कैंची प्रहार गरी हत्या गरेका छन् ।
प्रहरीले धारिलो कैचीले हानेर हत्या गरेको अभियोगमा भारत मोतीहारीका २५ वर्षिय सुबोध मियाँलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १६ बालाजु बाइपास बस्दै आएका सुबोधले कैंची प्रहार गरी भारत मोतीहारी नै घर भएका २५ वर्षीय कलाम मियाँको हत्या गरेका हुन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी समेत रहेका प्रवक्ता प्रमेश विष्टले कपडा सिलाइ गर्ने एउटै पेशामा आबद्ध उनीहरु बिच आपसी मनमुटावपछि घटना भएको पाइएको बताए ।
मंगलबार राती कलाममाथी कैची प्रहार भएको थियो भने उनलाई घटनापछि उपचारका लागि राती नै त्रिवि शिक्षण अस्पताल महाराजगंज पुर्यार्इएको थियो । उपचारकै क्रममा उनको मंगलबार राती नै निधन भएको प्रहरीले जनाएको छ ।
तर सुवोध भने घटनापछि भागेर काठमाडौंबाट बाहिरिंदै थिए । सो क्रममा प्रहरीले उनलाई बुधबार विहानै फर्पिङबाट पक्राउ गरिएको जनाएको छ ।
महानगरीय प्रहरी बृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरले अनुसन्धानका क्रममा उनीहरु बिच विगत एक महिनादेखि नै विवाद रहँदै आएको पाइएको जानकारी दिए । हत्या गर्ने सुवोध र कलामको मामा बीचको विषयमा उनीहरु बिच झगडा हुँदै आएको अनुसन्धानमा खुलेको उनले जानकारी दिएका हुन ।
पक्राउ परेका सुबोधले भने हत्या गर्ने नियतबाट नभइ सामान्य विवादका क्रममा कलामले आफूमाथी रड प्रहार गर्दा आफूले समेत हातमा रहेको कैंची प्रहार गरेको बयान प्रहरीमा दिएको प्रहरी बताउँछ ।