संसारकै धनाढ्य एलन मस्कको घोषणाः मेरो आधा पैसा मंगल ग्रहमा शहर बनाउन खर्च हुनेछ
मानवलगायत सबै प्रजातिको अस्तित्वको निरन्तरता मंगल ग्रहमा पुर्याउने लक्ष्य
प्रकाशित २०७७ पुष २४ शुक्रबार
116
Shares
काठमाडौं । बिहीबार एलन मस्क विश्वकै धनाढ्य व्याक्ति बने । विद्युतीय कार उत्पादक कम्पनी टेस्ला र अन्तरिक्ष अन्वेषणसम्बन्धी कम्पनी स्पेस एक्सका संस्थापक एलन मस्कले आफु विश्वकै धनाढ्य बनेपछि ‘कति अचम्म’ भन्दै प्रतिक्रिया दिए ।
टेस्ला कम्पनीको सेयरको मूल्य आकासिएसँगै एलन मस्कको कुल सम्पती यो समाचार लेखुञ्जेलसम्म १९५ अर्ब अमेरिकी डलर पुगेको छ । विगत एक वर्षमा एलन मस्कको सम्पती १५० अर्ब अमेरिकी डलरले बढेको छ । सन् २०१७ देखि बुधबारसम्म विश्वकै धनाढ्य रहेका जेफ बेजोसको सम्पती १८५ अर्ब अमेरिकी डलर छ ।
सन् २०१० को जुन २९ मा टेस्लाले १ करोड ३३ लाख साधारण सेयर निस्कासन गरेको थियो । त्यतिबेला सेयरको मूल्य १७ डलर रहेको थियो भने टेस्लाको बजार मूल्य १७ अर्ब अमेरिकी डलर रहेको थियो । सन् २०१६ तिर टेस्लाको सेयर मूल्य शुन्य बराबर रहेको थियो ।
टेस्ला निकै नै संघर्षको बेलामा हुँदा सन् २०१७ मा एलन मस्कले कम्पनी बेच्न खोजेको बारेमा उनले केहीअघि आफैले ट्विट गर्दै बताएका थिए । त्यतिबेला टिम कुकले मस्कसँग भेटवार्ता गर्न मानेका थिएनन् । अहिले टेस्लाको सेयरको मूल्य झण्डै ७ सय प्रतिशतले बढेको छ, भने टेस्ला विश्वकै मूल्यवान अटोमेकर कम्पनी भएको छ ।
एलन मस्कले आफ्नो कमाइको अधिकांस खर्च महत्वपूर्ण योजनामा खर्च गर्ने बताएका छन् । बिहीबार उनले आफ्नो ट्विटरमा प्राथमिकतामा सन् २०१८ मा लेखेको एक ट्विटलाई राखेका छन् । उक्त ट्विटमा मस्कले लेखेका छन्, ‘मेरो कमाइको आधा पैसा पृथ्वीका समस्याहरु समाधन गर्नका लागि हो र आधा पैसा मंगल ग्रहमा आत्मनिर्भर शहर स्थापना गर्नका लागि खर्च हुनेछ ।’
मस्कले अघि लेखेका छन्, ‘यदि डाइनोसरको युगमा जस्तै पृथ्वीमा क्षुद्रग्रह ठोक्किएर या तेस्रो विश्वयुद्धका कारण हामी आफैले आफ्नो बिनाश गर्न लाग्दा मानवलगायत सबै प्रजातिको अस्तित्वको निरन्तरता मंगल ग्रहमा हुनेछ ।’