जम्मा ७ घण्टा ५ मिनेट बसेर सकियो राष्ट्रिय सभाको सातौं अधिवेशन
प्रकाशित २०७७ पुष २६ आइतबार
102
Shares
काठमाडौं । १७ पुसबाट सुरु राष्ट्रिय सभाको सातौं अधिवेशन जम्मा ७ घण्टा ५ मिनेट बसेर अन्त्य भएको छ । राष्ट्रियसभाको सातौ अधिवेशन दश दिनको यस बिचमा जम्मा चार दिन बस्दा ७ घण्टा ५ मिनेट बसेर सकिएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आइतबार राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए । पत्रमा आज मध्यरातबाट अधिवेशन अन्त्य हुने भनिएको छ ।
आइतबार दिउसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अधिवेशन अन्त्य र आहवान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभाको चालु अधिवेशनमा राष्ट्रपतिबाट जारी गरिएका संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश गरी ७ विभिन्न अध्यादेशहरु पेस भएका थिए ।