काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कार्यकाल सकिनुभन्दा अघि नै हटाउन अमेरिकी सदनमा सक्रियता बढेको छ ।खासगरी नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनको पार्टी अर्थात डेमोक्र्याटहरुले ट्रम्पलाई २० जनवरी भन्दा अघि नै हटाउन भरपुर कोसिस थालेका हुन् ।
आउँदो जनवरी २० मा ट्रम्प ह्वाइट हाउस छोड्दै छन् भने, बाइडेन प्रवेश गर्दैछन्।
यद्यपी,बाँकी रहेका केही दिनमा ट्रम्पले कस्तो कदम चाल्ने हो ? भन्ने डरले डेमोक्र्याटहरुले ट्रम्पलाई हटाउँन माग गरेका हुन् ।
अमेरिकी संविधानको धारा २५ मा कुनै विशेष कारणबस उपराष्ट्रपतिले राष्ट्रपतिलाई हटाउन सक्ने उल्लेख छ ।
यसैअनुसार ट्रम्पलाई हटाउनको माग गर्दै डेमोक्र्याटतर्फकी सभामुख नान्सी पेलोसीले उपराष्ट्रपति माइक पेन्सलाई सुचित गराएकी छन् ।
आइतबार सभामुख पेलोसीले उपराष्ट्रपति पेन्सलाई धारा २५ को प्रयोग गर्दै ट्रम्पलाई हटाउन भनेकी छन् ।
सोमबार अर्थात आज संसदमा दुवै दलका सांसदहरुले ट्रम्पलाई हटाउने सहमति पारित गर्ने सभामुख पेलोसीले बताएकी छन् ।
यदि यो सम्भव भएन भने, सभाले राष्ट्रपतिविरुद्ध महाअभियोगको लगाउने तयारी गरेको समेत पेलोसीले बताएकी छन् । डेमोक्र्याटतर्फका दुईसय भन्दा बढी सांसदहरुको हस्ताक्षरसहितको महाअभियोग प्रस्ताव अघि सारिएको बताइएको छ ।
'विद्रोहलाई उत्तेजित' पारेको आरोपमा ट्रम्पमाथि लगाइन लागेको महाअभियोग प्रस्तावमाथि मंगलबार अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले मतदान गर्ने समेत पेलोसीले बताएकी छन् ।
जनवरी ६ मा अमेरिकी संसदमा भएको आक्रमणलाई ट्रम्पले भड्काएको भन्ने आरोप छ ।
आइतबार आईपीएसओएसले सार्वजनीक गरेको एक मतसर्वेक्षणमा ५६ प्रतिशत अमेरिकी नागरिकले ट्रम्पलाई कार्यकाल सकिनु अघिनै हटाइनुपर्छ भनेर भोट गरेका छन् । यद्यपी ४४ प्रतिशतले भने ट्रम्पलाई हटाउन नहुने भनेका छन् ।
त्यस्तै १३ प्रतिशत रिपब्लिकनहरुले ट्रम्पलाई हटाउनुपर्छ भनेका छन् भने ८७ प्रतिशतले हटाउन नहुने भनेका छन् । ९४ प्रतिशत डेमोक्रयटहरुले ट्रम्पलाई हटाउनुपर्छ भनेका छन् भने ६ प्रतिशतले ट्रम्पको पक्षमा मत गरेका छन् । ५८ प्रतिशत स्वतन्त्र तर्फकाहरुले ट्रम्प हटाइनुपर्छ भनेका छन्, भने ४२ प्रतिशतले हटाउन नहुने भनेका छन् ।
ट्रम्पलाई कार्यकाल सकिनु अघि नै ह्वाइटहाउसबाट निकाल्ने प्रयास तत्काललाई सफल हुने नदेखिएपछि सदनमा चर्को आवाज उठिरहेको छ । ट्रम्पले पछिल्ला दिनमा कस्ता कदम चाल्नसक्छन् यो भने हेर्न बाँकी नै छ ।