काठमाडौं । नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक शुक्रबार नयाँदिल्लीको हैदराबाद हाउसमा बसेको छ । तीन दिने भ्रमणका लागि भारतमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेशमन्त्री एस जयशंकरले गरेका छन् । संयुक्त आयोगको बैठक अघि मन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच हैदराबाद हाउसमै भेटवार्ता भएको थियो । भेटका क्रममा द्विपक्षीय हितका सम्बन्धमा कुराकानी भएको बताइएको छ । यसबाहेक दुवैपक्षबाट नेपाल र भारतबीचको एतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै अघि बढ्ने प्रतिवद्धता गरिएको छ ।
संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय खोप नेपालका लागि पनि उपयुक्त हुने बताएका छन् । उनले नेपाल र भारतको मौसम, भौगोलिक अवस्था र ढुवानीका लागि एउटै किसिमको वातावरण भएका कारण भारतीय खोप नै नेपालका लागि उचित हुने बताएका हुन् ।
भारतीय विदेशमन्त्री जयशंकरले नेपाल भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजानुपर्ने बताएका छन् । संयुक्त आयोगको बैठकमा विभिन्न एजेण्डामाथि छलफल र समिक्षा गरिएको छ ।
सीमाविवादका विषयमा संयुक्त आयोगको बैठकमा कुरा नगरिने भारतीय पक्षले बिहिबार साँझ नै जनाएको थियो । यसका लागि सचिव स्तरीय टोलीले आफ्नो काम सकेपछि मात्रै परराष्ट्रमन्त्री स्तरीय छलफल हुने बताइएको छ ।
बिहीबार भारत गएका मन्त्री ज्ञवाली शनिबार अपराह्न नेपाल फर्किने छन् ।
भारतमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलगायतका उच्च राजनीतिज्ञहरुसँग भेटघाट गर्ने समेत बताइएको छ । यद्यपी यस कार्यतालिकाबारेको कुनै जानकारी भने सार्वजनीक गरिएको छैन् ।