काठमाडौं। काठमाडौंमा २० वर्षकी एक अविवाहित युवतीले बच्चा जन्माएर झाडिमा फालेकी छिन् । काठमाडौं महानगरपालिका २६ महाराजगंजस्थित पवित्रनगरमा पर्ने झाडीमा प्रहरीले बुधबार दिउसो साढे १२ बजे नवजात शिशु फेला पारेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार दिउँसो १२ बजेर ३० मिनेट जाँदा पवित्रनगरस्थित झाडिमा नवजात छोरी शिशु रोइरहेको अवस्थामा फेला परेको हो ।
प्रहरीले झाडिमा लगेर नवजात शिशु फाल्ने आमालाईसमेत पक्राउ गरेको छ । प्रहरीका अनुसार अविवाहित रहेकी ति युवतीले उमेर पुगेर नै बच्चा जन्माएको अनुसन्धानमा खुलेको छ ।
परिसर काठमाडौंका डीएसपी एवम् प्रवक्ता प्रमेश विष्टले झाडिमा बच्चा रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र लगत्तै पुगेको प्रहरीले आमालाईसमेत नियन्त्रणमा लिएको जानकारी दिए ।
‘स्थानीयले झाडिमा बच्चा रोएको सुनेछन्, त्यसपछि प्रहरीमा खबर आयो र लगत्तै प्रहरी टोलीले बच्चासहित आमालाई समेत नियन्त्रणमा लिएर उपचारका लागि कान्ति अस्पताल लगेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता विष्टले हाम्राकुरासँग भने ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।